पाल्पा महोत्सवसँगै सडक खाना महोत्सव शुरु हुँदै
मुक्तिप्रसाद न्यौपाने
फागुन १६, पाल्पा
‘पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार, अवसर र संम्भावना छ अपार’ भन्ने मुल नाराका साथ पाल्पा महोत्सव २०६९ सँगै जिल्लाकै इतिहासमा पहिलो पटक सडक खाना महोत्सव आजबाट शुरु हुँदैछ ।
नेपाल उद्योग वाणिज्य महासंघ, पाल्पा उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति, तानसेन नगरपालीका कार्यालयको आयोजना र जिल्ला कृषि विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयको सहआयोजनामा पाल्पा महोत्सव सञ्चालन हुन लागेको हो । महोत्सव उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले गर्ने मेला मूल आयोजक समितिका संयोजक मधुदयाल सैंजु बताउँछन् ।
२६ गतेसम्म सञ्चालन हुने महोत्सवमा दुईलाख अवलोकन कर्ताले अवलोकन गर्ने र दुई करोड बराबरको कारोबार हुने मूल आयोजक समितिले बताएको छ । मेलामा अटोमोवाईल, हाउजिङ, रियलस्टेट, बैंक, वित्तिय तथा विमा कम्पनी, रेष्टुरेन्ट, आइसक्रिम पार्लर, शैक्षिक संभसंस्था, सूचना प्रविधि, विदेशी प्रतिष्ठान, स्वदेशी उत्पादन, कषिजन्य उद्योग लगायतको २ सय ८७ स्टल रहने स्टल व्यवस्थापन उपसमितिका संयोजक दीपकप्रसाद पाण्डेयले बताए ।
पाल्पा महोत्सवमा पाल्पाका ऐतिहासिक धार्मीक स्थलहरुको फोटो प्रदर्शनी, ऐतिहासिक काष्ठकला नमूनाको प्रदर्शनी, स्थानीय घरेलु तथा कुटिर उद्योग, कृषि तथा वनजन्य प्रदर्शनी, अदुवाको छुट्टै प्याभिलियन, वाल उद्यान, महोत्सव स्थल फ्रि वाइफाई जोन, लोकगीत तथा लोकनृत्य प्रतियोगिता, राष्ट्रिय कलाकारहरुका साथमा साँस्कृतिक कार्यक्रम हुनेछ ।
महोत्सवलाई लुम्बिनी मेडिकल कलेज तथा रिसर्च सेन्टर र एक गाउँ एक उत्पादन जिल्ला समितिले मुख्य प्रायोजन गरेको छ ।
महोत्सवसँगै साँझ ३ बजेदेखी मखनटोल टोल विकास संस्थाले एक दिने सडक खाना महोत्सव समेत आयोजना गरेको छ । खाना महोत्सवमा सेलमरी, डिसमरी, समयवजी, सेवई, मःम, चुकाउनी, ओमरी, खीर लागयतका विभिन्न पाल्पाली परिकारहरु खान पाइने भएको छ । ३० बढी विभिन्न जातजातिका खानाहरुको स्टलहरु महोत्सवमा राखिने संस्थाकी अध्यक्ष ज्योतीराज भण्डारीले बताइन् ।