|

युएईमा दुबई व्यापार महोत्सवको चहल पहल

लालबहादुर ढेंगा, दुबई, युएई - विश्वको सबैभन्दा अग्लो १६७ तला ८८३ मिटर उचाईमा रहेको ब्रुज “खलिफा टावर” ले युएईलाई चिनाएको छ भने विश्वमा सबैभन्दा ठूलो सपिङ मल “दुबई मल” र विश्वमा सबैभन्दा महंगो होटल “एटलान्टक्स होटल” ले पर्यटकलाई आकर्षित गरेको पाईन्छ । सातवटा स्टेटको संयुक्तमा बनेको देश संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी अबुधावी भएता पनि दुबई व्यापारको लागि धेरै व्यस्त सहर भएकाले युएई भन्ने बित्तिकै पहिले दबई सहरको नाम अगाडि आउने गर्दछ । लगभग १०६ राष्ट्रका नागरिकहरु बसोबास गर्ने युएईमा विश्वको सबैभन्दा ठूलो सुनको व्यापार केन्द्र दुबई नै हो ।

सन् १९९५ मा स्थापना भएको दुबई व्यापार महोत्सवले दुनियाभरका पर्यटकलाई आकर्षित गर्नमा मात्र हैन आफ्नो बजार व्यावस्थापनमा पनि लोकप्रियता हासिल गर्नमा सफलता पाएको छ । विश्वभरिका पर्यटकहरुको केन्द्र विन्दु रहेको दुबईमा विगतमा जस्तै यस बर्ष पनि विभिन्न देशका सांस्कृतिक कार्यक्रम तथा झिलीमिली सजावटका साथ दुबई व्यापार महोत्सवको चहल पहल बढेको छ । एक महिनासम्म चल्ने उक्त महोत्सव गत ३ जनवरी २०१३ मा सुरु भएको थियो । जस्मा आगामी ३ फेब्रुअरी २०१३ सम्म रहने भएको छ ।

खासगरी पर्यटक तथा स्थानीय खरिददारीहरुको अझै घुइचो ग्लोबल भिलेजमा हेर्न सकिन्छ । किन कि यहां विश्वभरिका आफ्नो कला, संस्कृति र परम्परागत अनुसारका भवनमा आ–आफ्नो देशको संस्कृति झल्काउने खालका सरसमान उपलब्ध भएको पाइन्छ । नेपालको पनि सगरमाथालाई चिनाउने खालका भवनले नेपालको शिर माथि उठाई दिएको छ । नेपालको भवनमा नेपालीहरुको शान खुकुरी र नेपालको प्रसिद्ध पस्मिना शौलदेखि लिएर नेपालका विभिन्न प्रकारका सरसमानहरु उपलब्ध रहेका छन् । नेपालको भवनको अगाडि बनाएको स्टेजमा हरेक दिन वेलुका नेपाली सांस्कृतिक कार्यक्रमले नेपाली पहिचानलाई अझै उजागर गरेका छन् ।

दुबईको यस व्यापार महोत्सवको अवसरमा हरेक सामानमाथि स्पेशल छूटका साथ भाग्य कूपनमा ठूला–ठूला उपहारहरु समेत पाइने प्रावधान रहेका छन् । जस्मा ३–४ लाखसम्मको गाडीदेखि लिएर १० किलो सुनसम्म जित्न सकिन्छ । कतिपय व्यक्तिहरु यस महोत्सवबाट पाएका उपहारले मालामाल भएका छन् । दैनिक चिठ्ठा ड्रा अन्तर्गत २ सय दिरामको टिकट लिएमा १ लाख दिरामसम्मको गाडी चिठ्ठामा जित्न सकिन्छ । अन्य पनि धेरै सुविधाहरु रहेकाले विश्वका पर्यटकहरुलाई यस महोत्सवले सजिलैसंग आकर्षित गर्नमा ठूलो सफलता पाएको छ ।

सो अवसरमा विभिन्न राष्ट्रका सांस्कृतिक कार्यक्रमले अझै महोत्सवलाई तताएको छ । लगभग ७० मुलुहरुको सांगीतिक मनोरञ्जन लुट्न सकिन्छ भने विभिन्न सर्कस र करतवले दर्शकका मन जितेका छन् । हरेक दिन सांझ परेपछि दुबईमा तिहारको पर्व आए जस्तै सजावट र भिडभाडको रौनकले खुस्याली ल्याएको पाइन्छ ।

 

Posted by Butwalonline on 9:14 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युएईमा दुबई व्यापार महोत्सवको चहल पहल"

Leave a reply