फुटबलको उपाधि सगरमाथालाई
माधब अर्याल पाल्पा, १४ माघ – निजी तथा संस्थागत विद्यालयस्तरीय रनिङ्शिल्ड फुटबल प्रतियोगिताको उपाधि सगरमाथा सामुदायिक वोर्डिङ् स्कुल आर्यभन्ज्याङ्ले हात पारेको छ ।
निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन (प्याव्सु) को आयोजनामा भएको फुटबलको आइतबार सम्पन्न फाईनलमा सनराईज बोर्डिङ् स्कुल डुम्रेलाई ३–० ले हराएको हो । सनराईजका रोबिन काफ्लेले दुई र हुमबहादुर गाहाले एक गोल गरे । प्रतियोगिताका बिजयी तथा उपबिजयी टिमलाई प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, प्याब्सुका केन्द्रीय सदस्य चन्द्रकान्त न्यौपाने, जिल्ला अध्यक्ष राजु पराजुली, जिल्ला फुटबल संघका अध्यक्ष भिमसेन कार्कीले पुरस्कार, शिल्ड, प्रमाणपत्र र मेडल बितरण गरे ।
जिल्लाका पुर्वखोला, दमकडा, डुम्रे, आर्यभन्ज्याङ्बाट १२ टिमको सहभागिता रहेको थियो । कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याव्सन) का अध्यक्ष खेमबहादुर सारु, व्याडमिन्टन प्रशिक्षक प्रकाश उदय, प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्मा, न्यू होराईजनका प्रिन्सीपल डासुराम पन्थले शिक्षक एकतालाई अझ बलियो बनाउने र मानवीय सम्बन्ध सुधार गर्न फुटबल सहयोगी बनाउने बताए ।
यस्तै, व्यामिन्टन प्रतियोगितामा पाल्पा प्यारागन बोर्डिङका शिवा थापा पहिलो भए । उनले सोही विद्यालयकै चन्द्रा थापालाई सोझो सेटमा हराएका हुन् । जिल्लाका ८ जना शिक्षक तथा कर्मचारीले भाग लिएको स्पर्धामा बेथल बोर्डिङ् स्कुलकी सृष्टि खनालले तेस्रो स्थान हासिल गरिन् ।उनले सोही विद्यालयकै मनिषा रेग्मीलाई हराएकी हुन् ।