|

पत्रकार थापाको हत्याका प्रमाण नष्टगर्न सरकारको निर्देशन

काठमाडौं, पौष २९ । पत्रकार डेकेन्द्र थापाको हत्याका आरोपीहरुसँग अहिलेसम्म लिइएको बयान र प्रमाणहरु नष्ट गर्न सरकारले फेरि आदेश दिएको छ ।

प्रधानमन्त्री बाबुराम भट्टराईका सरकारी कानूनी सल्लाहकार महान्यायाधिवक्ता मुक्ति प्रधानले जिल्ला न्यायाधिवक्तालाई प्रमाण नष्ट गर्नका लागि दबाब दिएका हुन् । जसका कारण अहिलेसम्म संकलित बयान र प्रमाण नै नष्ट हुने खतरा बढेको छ । महान्यायाधिवक्ता प्रधानले अस्ती सबै खाले कानूनी प्रक्रिया रोक्न लिखित आदेश नै दिएपछि दैलेखस्थित सरकारी वकिलको कार्यालयले बयान नै रोकेको छ । प्रधानमन्त्री भट्टराई र महान्यायाधिवक्ता प्रधानले पत्रकारलाई जिउँदै गाडेर हत्या गरेको अपराध स्वीकारेकामाथिको कानूनी कारबाहीमा बाधा पु¥याउने प्रयास गरेकोमा दैलेखमा हिजो उहाँहरुको पुत्ला दहन गरिएको छ । नेपाल पत्रकार महासंघको नेतृत्वमा दैलेखका पत्रकार, राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारणको जुलुसले प्रधानमन्त्री र महान्यायाधिवक्ताको पुत्ला जलाएको हो ।

महान्यायाधिबक्ता मुक्ति प्रधानले डेकेन्द्र हत्यामा संलग्नको बयान नलिन र कारबाही प्रक्रिया अगाडि नबढाउन सरकारी वकिलको कार्यालयलाई लिखित निर्देशन दिनुभएको थियो । जुलुसका सहभागीले सरकारी षडयन्त्रविरुद्ध नाराबाजी गर्दै डेकेन्द्र चोक परिक्रमा गरी जिल्ला प्रहरी कार्यालय अगाडि पुगेर पुत्ला दहन गरेका हुन् । डेकेन्द्र हत्याकाण्डका अपराधीहरुलाई बचाउन सरकारी तवरबाट भईरहेको षडयन्त्रबारे छानविन गर्न काठमाडौबाट मानवअधिकारकर्मी सुशील प्याकुरेलको नेतृत्वमा गएको ६ सदस्यीय टोली दैलेख पुगेको छ । उक्त टोलीले दैलेखका नागरिक समाज, राजनीतिक दल, पत्रकार र स्थानीयवासीसँग अन्तरक्रिया गरेको छ । प्रधानमन्त्रीको ठाडो आदेशमा महान्याधिवक्ताले डेकेन्द्र हत्याका आरोपीहरुको मुद्दा अगाडि नबढाउन लिखित आदेश दिएकोमा सहभागीले विरोध गरेका छन् ।स्रोत :ईमेज  च्यानल

Posted by Butwalonline on 7:31 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पत्रकार थापाको हत्याका प्रमाण नष्टगर्न सरकारको निर्देशन"

Leave a reply