प्रेस चौतारी नेपाल रुपन्देहीद्धारा मुखमा कालोपट्टी बाधेर धर्ना
बिनोद परियार,रूपन्देही,माघ ५ - प्रेस चौतारी नेपाल रुपन्देही शाखाले पत्रकार हत्या र बेपत्ता पार्ने कार्यमा संलग्न दोषीलाई कारवाहीको माग गर्दै ईलाका प्रशाशन कार्यालय बुटवलमा विहिबार धर्ना दिएर विरोध प्रदर्शन गरेको छ । प्रेस चौतारीले देशभर प्रशाशनमा धर्ना दिने कार्यक्रम अन्तर्गत रुपन्देही शाखाले मुखमा कालोपट्टी बाधेर विरोध जनाएको हो ।
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नलाइ प्रहरीले पक्राउ गरेकोमा सरकारले शान्ति प्रकृयाका नाममा छुटाउन खोजेको भन्दै देशभरका पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन । विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै पत्रकार महासंघका केन्द्रिय सदस्य एंव पश्चिमाञ्चल संयोजक मोहन चापागाइले पत्रकारमाथि आक्रमण गर्ने सत्ताधारी या विद्रोही जो भएपनि दोषीलाई कानुनी कठघरामा उभ्याइने बताए । पत्रकार थापाको हत्यामा संलग्न कारवाही गर्नुको सट्टा सरकारले युद्धको नाममा अपराधि बचाउने खेलमा लागेकाले यसका विरुद्ध महासंघले आन्दोलन थालेको बताए ।
‘युद्धको नाममा गम्भिर प्रकृतिको घटनाका दोषीलाई छुटकारा दिनु भनेको कानुनी राज्य नहुनु हो ’ चापागाईले भने –‘दोषीलाई कारवाही नभएसम्म आन्दोलन रोकिदैन ।’ सो अवसरमा प्रेस चौतारीका केन्द्रिय सदस्य दिनेश पाण्डे,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवाली,सल्लाहाकार शेर बहादुर केसि,क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सदस्य यानेन्द्र जिसि,नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य रामराज पोख्रेल,मानवअ अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य गोविन्द खनाल,ईन्सेक रुपन्देहीका अमृत गिरी,आदिवासि जनजाती पत्रकार संघका रुपन्देही अध्यक्ष भिम बहादुर गुरुङ्ग लगायतले बोल्दै पत्रकार हत्या र बेपत्ता पार्नेहरुलाई सरकारले कुनै पनि वाहनामा छुट्कारा दिन नमिल्ने बताउदै दोषीलाई कानुनी कठघरामा ल्याउन माग गरे । कार्यक्रम प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष प्रदीप आचार्यको अध्यक्षता तथा सचिव विपि गौतमको संचालनमा सम्पन्न भएको हो ।