जंगली च्याउ खोज्नजांदा पहिरोमा पुरिएर एक युवाको मृत्यु
रुकुम, माघ ७ - स्थानीय जंगलमा पाइने जंगली च्याउ खोज्न हिड्नुभएका एक युवाको पहिरोमा पुरिएर मृत्यु भएको छ । पूर्वी रुकुमको रुकुमकोट गाविस १ का २६ वर्षीय नारायण पुनको आज विहान पहिरोले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक शिवराज वुढाथोकीले जानकारी दिनुभएको छ ।
रुकुमकोटस्थित स्थानीय रानीकोट जंगलमा च्याउ खोज्न हिड्नुभएका पुनलाई एक्कासी आएको पहिरोले च्यापेपछि घटना स्थलमै मृत्यु भएको थियो । परिवार र छिमेकीले पहिरोमा पुरिएको आशंका गर्दै खोजीगर्दा पुन मृत अवस्थामा भेटिनुभएको थियो । दुई दिन अघि परेको अविरल वर्षाका कारण जमिनको धरातल खुकुलो वनेको छ । लामो समयपछि पानी परेकोले जंगलमा च्याउ उम्रिएको भन्दै स्थानीयहरु च्याउ खोज्न जंगल जाने गरेका छन ।
