प्राविधिक शिक्षाले समाज परिवर्तन गर्न सक्ने-उपराष्ट्रपति झा
नवलपरासी ,माघ १२ -उपराष्ट्रपति परमानन्द झाले प्राविधिक र व्यवहारिक शिक्षाले नै समाज परिवर्तन गर्न सक्ने बताएका छन् । कावासोती स्थित कुमारवर्ती वहुमुखी क्याम्पसको रजत महोत्सवलाई सम्बोधन गर्दै झाले सो कुरा व्यक्त गरेका हुन् । प्रतिकूल मौसमका कारण निर्धारित समय भन्दा तीन घण्टा ढिलो कार्यक्रममा आएका उपराष्ट्रपति झाले शिक्षाको विकासमा सवै पक्ष र क्षेत्रबाट लागेमात्रै शिक्षाको विकास हुने बताएका छन् ।
दश मिनेट लामो सम्बोधनका क्रममा उपराष्ट्रपतिले वर्तमान राजनैतिक परिवेश प्रति कुनै पनि प्रतिक्रिया व्यक्त नगरी शिक्षा क्षेत्रमा व्यापक सुधार गर्नु पर्ने कुरा मात्र व्यक्त गरे । रजत महोतसवका अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपतिले क्याम्पस संञ्चालनका लागि सहयोग गर्ने चन्दा दाताहरुलाई सम्मान गर्नुका साथै क्याम्पस परिसरमा निर्माण गरिएको रजत स्तम्भको उद्घाटन र स्मारिकाको विमोचन गरेका थिए ।
क्याम्पस संञ्चालक समितिका अध्यक्ष दीपकराज लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोशनवहादुर गाहा , मोतिराम तिवारी , मदनभक्त अधिकारी लगाएतले क्याम्पसको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
