कला तथा संस्कृति संरक्षणका लागि मगर भेला सम्पन्न
बिनोद परियार,बुटवल ,माघ १४ -मगर समुदायको कला तथा संस्कृति संरक्षणका लागि मगरहरु आफै लाग्नु पर्ने रुपन्देही पर्राेहाको सैनामैनामा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
मगर समुदायको कला,संस्कृति संरक्षण गर्नु राज्यको दायित्व भएपनि मगरहरुले संरक्षणका लागि राज्यलाई घचघच्याउंनु पर्ने आवश्यकता पनि उनीहरुले औल्याएका छन् । भेलामा नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज),रुपन्देहीका सचिव टेकबहादुर मास्कीराना,नेपाल मगर संघ बुटवल नगर समिति सदस्य चेतबहादुर सिंजाली,संघका पर्राेहा गाउं समितिका अध्यक्ष पुजेन्द्र श्रीस,सचिव सूर्यविक्रम राना,मंचका सल्लाहकार बलबहादुर पेमीमगर,नेपाल मगर विद्यार्थी संघ,रुपन्देहीका अक्ष्यक्ष संजिव थापामगर लगायतले बोल्नु भएको थियो । भेला मंचका अध्यक्ष रोशन गलामीको अध्यक्षता,उपाध्यक्ष प्रेम राहादीको स्वागत तथा महेश थापाको संचालनमा सम्पन्न भएको थियो ।