उजिरसिंह माविको स्वर्णजयन्तीको तयारी अन्तिम चरणमा
बिनोद परियार,बुटवल ,मंसिर २२- बुटवल नगरपालिका बडा नं. ४ गढीटोलमा रहेको उजिरसिंह माध्यामिक विद्यालयले मनाउन लागेको स्वर्णजयन्तीको तयारी अन्तिम चरणमा पुगेको छ ।
आगामी पौष १ देखि ७ गतेसम्म सात दिवसीय कार्यक्रमका साथ स्वर्ण जयन्ती मनाउन लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । २०२० सालमा नि:शुल्क अनिर्वाय प्राथमिक शिक्षा योजना पाठशाला केन्द्र नं. ५ का नाममा स्थापना भएको सो विद्यालय २०२९ सालदेखि उजिरसिंह निम्न माविको नाममा सञ्चालनमा आएको हो ।
स्वर्ण जयन्ति कार्यक्रम अनुसार पौष १ गते प्रभातफेरी र स्वर्ण जयन्ति उद्घाटन कार्यक्रम रहेको पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश नेपालले बताउनु भयो ।यसैगरि जयन्तिका अवसरमा सात दिनसम्म विभिन्न शैक्षिक तथा खेलकुद कार्यक्रमहरु पनि गरिने जनाइएको छ । स्वर्ण महोत्सवको अन्तिम दिन पौष ७ गते सरस्वति पुजा, स्वर्ण जयन्ती भवन उद्घाटन, स्मारिका विमोचन कार्यक्रम तय गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश नेपालको अध्यक्षता, प्रधानाध्यापक मुहम्मद महबुब खाको स्वागत तथा शिक्षक गौतमराज शाक्यको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका सल्लाहाकार सुमन अधिकारी, विमलबहादुर शाक्य, एजाज आलम, सुरेश वज्राचार्य लगायत बोल्नु भएको थियो । स्वर्ण महोत्सव सम्पन्न गर्नका लागि ३ सय ५१ सदस्यीय मुल समारोह समिति र २१ सदस्यीय सल्लाहाकार समिति गठन गरिएको छ ।