विश्वकै कम तौल भनी दावी गरिएको कुखुराको अण्डा लुम्बिनी एक्स्पो–२०१२ मा
बिनोद परियार,बुटवल ,मंसिर २६- बुटवलमा आयोजना हुन लागेको लुम्बिनी एक्स्पो–२०१२ तथा अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागी हुने होटल तथा रेष्टुरेन्ट सम्बन्धी स्टलहरुको अनुगमन गरिने भएको छ । कम व्यवस्थापनको अभाव र कम गुणस्तरीय खाद्य सामग्रीका कारण विगतका वर्षहरुमा आलोचित बन्दै आएको होटल रेष्टुरेन्टको क्षेत्रलाई यसवर्ष अनुगमन गर्न लागिएको हो ।होटल तथा रेष्टुरेन्ट सम्बन्धी स्टलहरुको अनुगमनका लागि होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, आयोजक रुपन्देही व्यापार संघ र पत्रकार सम्मिलित फूड फेस्टिबल अनुगमन समिति गठन गरिएको छ । रुद्रमान ढकालको नेतृत्वमा गठन गरिएको समितिमा आयोजकका तर्फबाट संघका कार्यसमिति सदस्य माधव नेपाल, होटल व्यवसायी संघका तर्फबाट महासचिव समुन्द्र जिसी र रामप्रसाद गौतम तथा पत्रकार यमलाल भुसाल सदस्य रहेका छन् ।
मेलामा होटल तथा रेष्टुरेन्ट सम्बन्धी करिव २० वटा स्टल रहने छन् । यसैगरि रुपन्देही व्यापार संघको आयोजनामा बुटवलमा हुन लागेको लुम्बिनी एक्स्पोमा विश्वकै सबैभन्दा कम तौल दाबी गरिएको कुखुराको अण्डा प्रदर्शनका लागि राखिने भएको छ ।दर्शकहरुलाई आकर्षण प्रदान गर्न विश्वकै कम तौल भनी दावी गरिएको कुखुराको अण्डा प्रदर्शन गर्ने व्यवस्था आयोजकले मिलाएको हो ।बुटवल–१४ नया गाउामा उत्पादन भएको उक्त अण्डा सबैभन्दा सानो रहेको र यसको विश्व रेकर्ड कायम गराउन सरकारले समेत प्रमाणपत्र समेत दिइसकेको बताइएको छ । अण्डा उत्पादकले गिनिज बुकमा नाम दर्ता गराउने उद्देश्यले उक्त अण्डा मेलामा प्रदर्शनका लागि राख्न लागेका हुन् । त्यस्तै मेलामा शैक्षिक गतिबिधिलाई पनि प्राथमिकता दिइने भएको छ । पुस्तकका स्टलहरु राख्नका लागि नेपाल पुस्तक तथा स्टेशनरी व्यवशायी महासंघसाग समन्वय गरिएको छ । मेलामा आकर्षण दिन भर्खरै बजारमा आएका र चर्चामा रहेका पुस्तकलाई स्टलमा राखिने नेपाल पुस्तक तथा स्टेशनरी व्यवशायी महासंघ रुपन्देहीका अध्यक्ष हेमानन्द शर्माले बताउनुभयो |