एसिया गोजुरियो कराते च्याम्पियनसिप–२०१२ मा भाग लिन नेपाली टोली भारत प्रस्थान
बुटवल, मंसिर, २६–नेपाल कराते महासंघमा आवद्ध जापान गोजुरियो कराते डो केनवाकाई नेपाल संघको प्रतिनिधित्व गर्दै ९ सदस्यीय कराते खेलाडीहरुको टोली भारतको जालन्धरमा आयोजना हुन लागेको छैठौ खुल्ला एसिया गोजुरियो कराते च्याम्पियनसिप–२०१२ मा भाग लिन आज बुटवलबाट त्यसतर्फ लागेको छ ।
भारत जान लागेको सो टोलीलाई एक कार्यक्रमकाबीच विदाई गरिएको थियो । आज बिहान काठमाडौबाट बुटवल आइपुगेको टोलीलाई जापान गोजुरियो कराते डो केनवाकाई नेपाल संघ, रुपन्देहीले विदाई गरेको थियो । सो अवसरमा टिमका प्रमुख तथा गोजुरियो करातेका राष्ट्रिय प्रशिक्षक विष्णुसिह खड्काले खेलको माध्यमबाट राष्ट्रलाइृ विदेशी भूमीमा परिचित गराउने यस अवसरलाई सहि रुपमा सदुपयोग गर्ने विश्वास व्यक्त गर्नु भयो ।
मंसिर २८ गतेबाट सुरु हुने प्रतियोगितामा नेपालसहित भारत, सिंगापुर, श्रीलंका, मलेसिया, वंगलादेश, इरान, उज्वेगस्तानका करिव १ हजार खेलाडीहरुको सहभागिता रहने जनाइएको छ । नेपालबाट प्रशिक्षक खड्कासहित सुमन तिमिल्सीना, सम्राम न्यौपाने, हिरा पुन, सोनु थापा, नवराज गुरुङ, विशाल तामाङ, शंकर भण्डारी र सन्दीप थापा सहभागि हुदैछन् । जसमा सन्दीप थापा रुपन्देहीका कराते खेलाडी हुन । नेपालले १६ बर्ष मुनीको उमेर समुह अन्तरगत काता र कुमते तथा सिनियरमा टिम कातामा प्रतिष्पर्धा गर्ने छ । यसैवीच रुपन्देहीका पश्चिम अनुवामा कराते वेल्ट टेष्ट कार्यक्रम सम्पन्न भएको छ । राजवर्ड एकेडेमी पश्चिम अमुवामा भएको कार्यक्रममा ५८ जना खेलाडीको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षक रवि राना, सन्दीप थापा, विवेक अर्याल र मेखबहादुर क्षेत्रीले प्रशिक्षण गराएका थिए ।