|

सीमा क्षेत्रमा चेकजाँच कडाइ

भैरहवा, कार्तिक १८ - मानव बेचबिखन जोखिम नियन्त्रण र आपराधिक गतिविधिमा संलग्नताबारे सीमावर्ती इलाका प्रहरी बेलहियाले भारततिर जाने निजी तथा रिजर्भ सवारीमाथि चेकजाँच सुरु गरेको छ ।विना चेकजाँच सहजै नेपाली सीमा पार गर्दा नेपाली चेलीबेटी तथा मानव बेचबिखनको जोखिम बढ्नुका साथै नेपालबाट अपराधीसमेत भाग्न सहज हुने सम्भावना यसअघि थियो । बिभिन्न संचार माध्यम हरुमा समाचार प्रसारण भएपछि प्रहरीले चेकजाँच र सोधपुछमा कडाइ गरेको हो । 

'समाचार छापिएपछि बिहीबारदेखि चेकजाँच र सोधपुछ थालेका छौं,' प्रहरी निरीक्षक लीलाराज लामिछानेले भने, 'कसैलाई दुःख कष्ट दिने मनसायले नभई मानव बेचबिखन र कोही फरार हुने जोखिम नियन्त्रणका लागि चेकजाँचमा कडाइ गरेको हो ।' त्यस्ता सवारीलाई भारत जाँदा चेकजाँच नहुँदा मानव बेचबिखनमा संलग्न दलालले चेलिबेटीलाई सीमा कटाउन सहज हुने भएकाले चेकजाँच गरिनुपर्ने बताउँदै आएकी चेलीबेटी तथा मानव बेचबिखनविरुद्ध लागेको केआई नेपाल बेलहियाकी सीमा इन्चार्ज उषा गुरुङले प्रहरीको पहल प्रशंसनीय रहेको बताइन् ।

बेलहियाको शान्तिद्वार किनारामा एक जुनियर अधिकृतको मातहतमा तीन प्रहरी ड्युटीमा रहेर नेपालबाट भारत जाने नेपाली निजी सवारी र रिजर्भ गाडीमाथि चेकजाँज र सोधपुछ गरेर सुरक्षा व्यवस्था व्यवस्थित पारिएको दाबी प्रहरीको छ । 'बिहान ६ बजेदेखि राति सीमा नाका बन्द नहुँदासम्म सुरक्षाकर्मी खटिएका छन्,' निरीक्षक लामिछानेले भने ।

Posted by Butwalonline on 6:30 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सीमा क्षेत्रमा चेकजाँच कडाइ"

Leave a reply