छठ पर्वको मूख्य दिन आज धुमधामका साथ मनाइदै
काठमाडौँ, मङ्सिर ४ - आराध्यदेव सूर्यको आरधना गरी मनाइने छठ पर्वको तेस्रो दिन आज तराई र काठमाडौ उपत्यका सहित देशका बिभिन्न ठाउँमा विशेष नियम र निष्ठासाथ मनाईंदैछ । कात्तिक शुक्ल चतुर्थीका दिन व्रतको तयारीका लागि स्नान गरी आज सूर्यलाई विशेष विधिपूर्वक अर्घ दिएर यो पर्व मनाईन्छ ।
छठका दिन व्रत बस्नेले आफैंले प्रसादका रुपमा ठकुवा, भुसवा अर्थात कसार लगायतका मिष्ठान्नहरु तयार पारी साँझपख नदी, तलाउ वा जलाशयमा नुहाएर अस्ताउँदो सूर्यलाई पूजा गरी पहिलो अर्घ दिने चलन छ । आज जलाशय वा नदीको किनारमा भजन कीर्तन गरी जाग्राम बस्ने पनि गरिन्छ । भोलि फेरि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विभिवत रुपमा सकिन्छ । आज व्रत बसी सूर्यको उपासना र पूजा गर्नाले चर्मरोग नलाग्ने, सन्तान प्राप्तिका साथै सुख, समृद्धि हुने धार्मिक विश्वास छ ।छठको अवसरमा तराईका बिभिन्न नदी, पोखरी, जलाशयसँगै काठमाडौका रानीपोखरी तथा बागमती र बिष्णुमती नदी किनार झकिझकाउ बनाइएको छ । छठ पर्वको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा-अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन थालेको र चौथो दिन उदाउँदो सूर्यलाई पूजा गर्ने चलन छ । सन्तान प्राप्ति, निरोगीता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकका रूपमा यो पर्व मनाइन्छ ।
स्रोत :ऑनलाइन खबर