राष्ट्रपतिले बजेट जारी गरे प्रतिपक्ष चुप लागेर नबस्ने-अध्यक्ष खनाल
पाल्पा, मंसिर ३, नेकपा एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रपतिकहाँ जवर्जस्ति आर्थिक अध्यादेश (बजेट) पठाएर सरकारले देशमा हंगामा मच्चाउन चाहेको बताएका छन् । राष्ट्रपतिलाई कुनैपनि हालतमा बजेट जारी नगर्न आफूहरुले आग्रह गरेको उनले खुलासा समेत गरे । राष्ट्रपतिले बजेट जारी गरे प्रतिपक्ष चुप लागेर नबस्ने खनालले चुनौती दिए ।
आईतबार पाल्पामा आयोजित पार्टीको मुखपत्र नवयुग मासिकको २३ औं बार्षिकोत्सवका अवसरमा बोल्दै खनालले भने ‘राष्ट्रपतिकहाँ अध्यादेश पठाएर जारी नभएको खण्डमा लौ अधिकारविहीन राष्ट्रपतिले सरकारको अवहेलना गरे भनेर हंगामा मच्चाउने यो सरकारको अवको रणनीति छ,’ उनले थपे ‘राष्ट्र अव गम्भीर संकटमा पर्नेवाला छ ।’ राष्ट्रमा संकट आईलागे त्यसको जिम्मेवारी सरकारले लिनु पर्ने अन्तराष्ट्रिय मान्यता भएकाले प्रतिपक्ष जिम्मेवार नहुने खनालको जिकिर थियो । सरकारले पठाएको अध्यादेश स्विकार्न राष्ट्रपति वाध्य नहुने भन्दै अध्यादेश खारेज हुने उनले विश्वाँस व्यक्त गरे । ‘संविधान पल्टाए हुन्छ, त्यहाँ राष्ट्रपतिलाई चित्त बुझे मात्रै अध्यादेश स्विकृत गर्ने भनेको छ,’ उनले थपे ‘यत्रो प्रतिपक्षको विरोध हुँदाहुँदै राष्ट्रपतिले यो सरकारको अध्यादेश स्विकार गरे देशमा अनिष्ट हुन्छ राष्ट्रपतिले त्यो काम गर्न
मिल्दैन ।’
पोलिटव्यूरो सदस्या प्रदिप ज्ञवालीले आन्दोलनकै बलबाट सरकार फेर्नु पर्ने परिस्थिति आएका बताए । पोलिटव्यूरो सदस्य छविलाल विश्वकर्मा र केन्द्रिय सदस्य ठाकुर गैरेले वर्तमान सरकारले सत्ता सञ्चालन गर्ने नैतिक आधार गुमाए बताए ।
कार्यक्रममा नेकपा एमाले निकट प्रेस चौतारीसंग आवद्ध विभिन्न जिल्लाका पत्रकारहरुको समेत उपस्थिति थियो ।