बुद्ध स्थल तिलौराकोटमा बिदेशी पर्यटक आगमन बढ्यो
किरणमान बज्राचार्य,कपिलवस्तु,कार्तिक १२ - बुद्ध स्थल तिलौराकोट (प्राचीन कपिलवस्तु)मा बिदेशी पर्यटक आगमन बढेको छ । अघिल्लो आब ०६७/६८ को तुलनामा गत आब ०६८/६९ पर्यटक बढेका हुन् । अघिल्लो आबमा २८ हजार ४ सय ९५ बिदेशी पर्यटक आएका थिए भने गत आबमा ३५ हजार ८ सय ३२ बिदेशी पर्यटक यहा आई अबलोकन गरेका थिए । बिगत ४ बर्ष देखि यहा पर्यटकहरुको आगमन संख्या बर्षेनी बढदै गएको छ । गत आबमा सबैभन्दा बढी क्रमश: श्रीलंका, म्यान्मार र थाईल्याण्डबाट पर्यटकहरु यहा आएका थिए ।
गत बर्ष कार्तिकमा सबैभन्दा बढी ४ हजार ९ सय १७ बिदेशी पर्यटक आएका भने सबैभन्दा कम असारमा २ सय ३२ पर्यटक आएका थिए । त्यस्तै गत आबमा ०६६/६७ मा २३ हजार ५ सय र ०६५/६६ मा १६ हजार ४ सय बिदेशी पर्यटक यहा आई अबलोकन गरेको लुम्बिनी बिकास कोषद्वारा तिलौराकोटमा राखिएको आगन्तुक पुस्तिकाको रेकर्डले देखाएको छ । बिदेशी पर्यटकमा तेस्रो मुलुकका पर्यटकको मात्र गणना गरिएको छ । यहा आउने ६० प्रतिशत बढी बिदेशीहरु धार्मिक तीर्थयात्राका लागि आउने गरेका छन । तिलौराकोटमा पर्यटक आउने संख्या हरेक बर्ष बढदै गएको तिलौराकोट स्थित लुम्बिनी बिकास कोषका कर्मचारी माधब आर्चायले बताए ।
यहा आउने पर्यटकहरुमा सबैभन्दा बढी म्यानमार र श्रीलंका छन् । त्यबौद्ध धर्मावलम्बीहरु यहा आई परित्रान पाठ, धर्मदेशना, बुद्ध बचन पढने र शान्तिका लागि प्रार्थना पनि गर्दछन् । तिलौराकोट भगबान गौतम बुद्धले २९ बर्ष जिबनयापन गरेको क्रीडास्थल तथा उनका पिता राजा शुद्धोदनको राजप्रासादका रुपमा बिश्वमा परिचित छ । त्यस्तै तिलौराकोट बरिबरि राजा शुद्धोदन र मायादेबीको समाधी स्थल मानिएको धमनिहबा स्तुप, कण्थक स्तुप, लोहसरिया कोट लगायतका अन्य ऐतिहासिक र पुरातात्बिक स्थलहरु रहेका छन् ।
