विटीगाइजलाई सगुन घले स्मृति कप
पोखरा, ६ असोज।विटीगाइज लाहाचोकले लाहाचोकमा सञ्चालित खुल्ला सेभेन–ए–साइड सगुन घले स्मृति कपको उपाधि हात पारेको छ।
त्रिशक्ति युवा क्लब लाहाचोकको आयोजनामा महेन्द्र उमाविको खेलमैदानमा शनिबार भएको फाइनल खेलमा डिफेण्डिङ च्याम्पियन शीतलादेवी बंकर्स क्लब रानीपौवालाई टाइब्रेकरमा २–१ ले पराजित गर्दै विटी गाइजले उपाधि हात पारेको हो।निर्धारित समय गोलरहित बराबरीका टुड्डिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।
उपाधि विजेता टीम विटीगाइजले नगद २० हजार प्राप्त गर्यो भने शीतलादेवीले नगद १२ हजारमा चित्त बुझायो। यस्तै सर्वाधिक छ गोल गर्ने विटीगाइजका कृष्ण गुरुङ हाइस्कोरर घोषित भए भने दीपज्योति क्लबका बेदबहादुर थापा बेस्ट प्लेयर घोषित भए। दुवैले एक–एक थान मोबाइल सेट प्राप्त गरे। घले युनाइटेड अनुशासित टीम बन्यो।उसले नगद एक हजार प्राप्त गर्यो।
यसअघि शनिबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा शीतलादेवी क्लबले दीपज्योति क्लबलाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको थियो। दोस्रो खेलमा विटीगाइजले घले युनाइटेड ए लाई १–० ले पराजित गरेको थियो।
विजेता तथा उपविजेता खेलाडीहरूलाई प्रमुख अतिथि भूपू एसपी श्रीबहादुर घले, लाहाचोक गाविसका सचिव एकनाथ पौडेल, निर्वमान उपाध्यक्ष विष्णु अधिकारी, कास्की जिल्ला फुटबल सङ्घका कोषाध्यक्ष कुमार गुरुङ, सदस्यद्वय मिलन गुरुङ र महेन्द्र गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका उपाध्यक्ष प्रेमनारायण न्यौपाने, खेल सञ्चालन उपसमितिका संयोजक प्रकाश अधिकारी, त्रिशक्ति युवा क्लबका अध्यक्ष विदुरचन्द्र ढकाल, सहयोगी हिटलर घलेलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।
समापनका अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा रेफ्री तथा अफिसियलको टीमले क्लब पदाधिकारी टीमलाई ४–० ले पराजित गर्यो।रेफ्री तथा अफिसियलको तर्फबाट मिलन गुरुङले ह्याट्रिक गरे भने एक गोल कुमार गुरुङले थपे। सोही अवसरमा लाहाचोकका १७ जना भूपू खेलाडीलाई प्रशंसापत्रले सम्मान गरिएको थियो। खेल सञ्चालन उपसमितिका संयोजक प्रकाश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भूपेन्द्र ढकालले गरेका थिए। प्रतियोगितामा ३८ टीमको सहभागिता रहेको थियो।
