ट्रिपर र ट्यांकर एक आपसमा ठोक्किदा ट्यांकर चालकको मृत्यु
धादिङ, असोज १- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाविस स्थित ४ किलोमा सोमबार बिहान पौने सात बजेतिर विपरित दिसाबाट गुडिरहेको ट्रिपर र दुध ढुवानी गर्ने ट्यांकर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ट्यांकर चालकको घटनास्थलमै मृत्यु भएको छ । सडकको बीचमै दुर्घटना भएकाले केही बेरदेखि पृथ्वी राजमार्ग अवरुद्ध छ ।
काठमाडौंबाट बैरेनीतर्फ गइरहेको ट्रिपरले गजुरीबाट काठमाडौंतर्फ दुध बोकेर जाँदै गरेको बा १ क ८४६६ नम्बरको ट्यांकरलाई ठक्कर दिएर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय प्रमुख हेमन्त थापाले टेलिफाने मार्फत जानकारी दिए ।
ट्यांकर चालकको सिटमै च्यापिएर मृत्यु भएको छ । च्यापिएकाले हालसम्म निकाल्न समस्या भएको घटनास्थलमा खटिएका प्रहरीले जानकारी दिए । ट्यांकरका खलासी गम्भिर घाइते रहेको प्रहरी जनाएको छ । ट्रिपरमा सवार भने सकुशल छन् । अघिल्लो भाग ठोक्किएकाले ट्रिपर नम्बर थाहा हुन सकेको छैन। दुर्घटनाको समयमा सिमसिम पानी परेकाले तिव्र गतिका कारण ब्रेक नलागेर दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।समाचार नागरिक न्यूज बाट