गुल्मीमा पहिरोले पुरिएर एकै परिवारका ४ जनाको मृत्यु
गुल्मी, श्रावण १९ - गुल्मीको ठुलोलुम्पेक गाविस-२ मा गएको पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
राति देखि परेको बर्षाका कारण पहिराले घनश्याम वि.क.का. घर पुरिंदा उनकी श्रीमती र तीन सन्तानको निधन भएको हो । ३९ वर्षीया श्रीमती भवि वि.क., १३ वर्षीय छोरा उमेश वि.क., ११ वर्षीया छोरी मुना र ६ वर्षीया छोरी विपनाको मृत्यु भएको स्थानीय नेत्र रानाले बताए ।
स्थानीय बासिन्दाले तत्कालै उद्धार गरेका कारण घर मुली घनश्याम वि.क. र १० वर्षको छोरा केशर वि.क.सुरक्षित जोगिएका छन् । परिवारका सबै खाना खान लागेको बेला ठुलोलुम्पेकको ५ नं. वार्डको दानसिंगा जाने मोटरबाटोको छेउ भासिएर गएको पहिरो माथिबाट बग्दै आएर वि.क. परिवारको कच्ची घर पुरेको हो ।
रिडी इलाका प्रहरी कार्यालय र जोहाङ्ग प्रहरी चौकीबाट प्रहरी निरीक्षक बिनीमाधन पौडेलको नेतृत्वमा प्रहरी टोली थप उद्धारका लागि घटनास्थलतीर गईसकेको छ ।
स्रोत कांतिपुर