चितवनलगायत ताम्सालिङ राज्यमा हिन्दी चलचित्र, हिन्दी प्रकाशन र प्रसारणमाथि
चितवन, असोज १० - मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले आजदेखि चितवनलगायत ताम्सालिङ राज्यमा भारतीय नम्बर प्लेटका गाडी चलाउन रोक लगाएको छ। नेकपा-माओवादीका कार्यकर्ताले चितवनको नारायणगढस्थित पुल्चोकमा बसेर आज बिहानैदेखि भारतीय नम्बर प्लेटको गाडी सञ्चालनमा रोक लगाइरहेका छन्।
यस्तै हिन्दी चलचित्र, हिन्दी प्रकाशन र प्रसारणमाथि पनि रोक लगाएको नेकपा-माओवादी चितवनकी इन्चार्ज शोभा कट्टेलले जानकारी दिएकी छिन् । उनीहरुले यहाँका सञ्चारमाध्यममै गएर हिन्दी गीत प्रसारण नगर्न भनेका थिए।
अण्डा, दूध, तरकारी, माछा, केराजस्ता नेपालमै उत्पादन हुने कृषिजन्य वस्तुको पनि आयातमा रोक लगाउने उनले बताइन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई लिएर सरकारलाई बुझाएको ७० बुँदे माग पूरा गराउन दबाबस्वरुप माओवादीले आजदेखि मङ्सिर १० गतेसम्म भारतीय वस्तुमाथि रोक लगाउने जनाएको छ।
ताम्सालिङ राज्यअन्तर्गत चितवन, मकवानपुर, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेलगायतका जिल्लामा माओवादीले यसरी भारतीय सवारीमा रोक लगाएको हो।
नेकपा-माओवादीका कार्यकर्ता चितवन भित्रिने र बाहिरिने नाका नाकामा बसेर भारतीय नम्वर प्लेटका गाडीलाई कडाइ गरिरहेका छन्। यसअघि चितवनका कृषकसँग उनीहरुले अन्तर्क्रिया गरी रोक लगाउनुपर्ने र नपर्ने खाद्य सामाग्री बोकेको गाडीको पहिचानसमेत गरेका थिए। रासस समाचार नागरिक न्यूज बाट