रक्तचन्दन तस्कर समूह र प्रहरीबीच झडप हुँदा एक भरियाको मृत्यु
सिन्धुपाल्चोक, भदौ ३१ - तिब्बती सीमा नाका फूल्पिङकट्टी गाविसको स्यालाङकट्टीमा आज बिहान रक्तचन्दन तस्कर समूह र प्रहरीबीच झडप हुँदा एक भरियाको मृत्यु भएको छ। रक्तचन्दन बोकेर खासा लैजादै गरेका भरियासहितका तस्कर र प्रहरीबीच बिहान दुई बजेतिर दोहोरो भिडन्तमा भरिया हगाम-५ का विवेक श्रेष्ठको मृत्यु भएको हो। प्रहरीको गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो। भरिया र तस्कर समूहका सदस्यसहित करिब ५० जनाको समूहले भाला र खुकुरी देखाउँदै ढुंगामुढा गरेपछि प्रहरीले प्रतिकारमा ९ राउण्ड हवाइ फायर गरेको थियो।
फूल्पिङकट्टीको नारायणस्थानको जंगलमा चन्दन स्टोर गरेको थाहा पाएपछि प्रहरीले शुक्रबार रातिदेखि नै उक्त स्थान घेरा हालेर सर्च चलाएको थियो। सो क्रममा शनिबार रक्तचन्दन लोड गरिरहेका बा२ख ८८६७ नम्बरको फोरह्विल गाडीसहित ६ मुढा चन्दन बरामद भएको थियो। अनुमान अनुरुप चन्दन नभेटेपछि प्रहरीले शनिबार रातिदेखि पुनः सर्च गर्दै अघि बढ्ने क्रममा स्यालाङकट्टीमा तस्कर-प्रहरी जम्काभेट भयो।
प्रहरीले चलाएको गोलीले भरिया विवेक भुँईमा ढलेपछि चन्दन फालेर भरिया र तस्करको भागाभाग भएको त्यहाँस्थित प्रहरी स्रोतले बतायो। भाग्न नसकेका दुई जना तस्करका सहयोगी पक्राउ परेका छन्। पक्राउ पर्नेमा फूल्पिङकट्टी-१ का बिर्खबहादुर श्रेष्ठ र फूल्पिङकोट-१ का प्रताप तामाङ छन्। तस्करले छोडेर भागेका करिव १ हजार ५ सय केजी बराबरको ७१ मुढा रक्तचन्दन पनि प्रहरीले बरामद गरेको छ।
तिब्बती लाप्टाङ क्षेत्रसँग सीमा जोडिएको उक्त स्थानमा प्रहरीले अहिलेपनि व्यापक सर्च चलाइ रहेको छ। प्रहरी प्रमुख डिएसपी प्रताप गुरुङ र सीमा प्रहरी कार्यालयका इन्स्पेक्टर विश्व कार्की नेतृत्वको प्रहरी सर्चमा खटिरहेको छ। स्रोतले घटनाको पुष्टि गरेपनि प्रहरीले आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन।
समाचार नागरिक न्यूज बाट