|

दुर्गाबहादुरको मृत्युदण्डको सजाय माफी हुने


काठमाडौं, असोज १३ - परराष्ट्र मन्त्रालयले मृत्युदण्ड पाएका पर्वत चित्रे- ४ का दुर्गाबहादुर सुनारको सजाय माफीका लागि युनाइटेड अरब इमिरेट्स (युएइ) सरकारलाई औपचारिक पत्र पठाएको छ। एक नेपालीको हत्यामा मृत्युदण्डको सजाय पाएका दुर्गाबहादुरलाई पीडित परिवारले माफी दिन सहमति जनाएपछि परराष्ट्रले सजाय खारेज गर्न शुक्रबार पत्र पठाएको हो।

अबुधावीस्थित नेपाली दूतावासमार्फत पत्र युएइ सरकार समक्ष पुगेपछि दुर्गाबहादुरलाई दिइएको मृत्युदण्डको सजाय माफी भएको घोषणा गरिने छ। पीडित पक्षले मागेअनुसार क्षतिपूर्ति रकम स्वरूप १० लाख रुपैयाँ उपलब्ध गरेपछि दुर्गाबहादुरले मृत्युदण्डको सजाय माफी पाउने भएका हुन्।

'दुर्गाबहादुरको मृत्युदण्ड सजाय माफीका लागि परराष्ट्रले शुक्रबार पत्र कुरियर गरी युएई पठाएको छ,' दुर्गाबहादुर बचाऊ अभियानका मुख्य सहयोगी अधिवक्ता लाल शर्मा सुवेदीले जानकारी दिए, 'पत्र आइतबार अबुधावीस्थित नेपाली दूतावास पुग्छ र त्यही दिन युएइ सरकार समक्ष दूतावासका कर्मचारीले बुझाउने छन्।'

इस्लामिक कानुनअनुसार दोषीलाई आम माफी दिन पाउने अधिकार पीडित परिवारमा रहन्छ। क्षतिपूर्ति रकम लिएर (ब्लडमनि) र बिना क्षतिपूर्ति रकम पीडित परिवारले आममाफी दिन स्वीकृति दिएमा दोषीले सजाय माफ पाउँछन्। दोषीका परिवारले प्रस्ताव गरेको क्षतिपूर्ति रकम पीडित परिवारले लिन अस्वीकार गरेमा र माफी दिन नचाहेमा दोषीलाई सुनाइएको फैसला कार्यान्वयन गर्ने गरिन्छ।

सोही बमोजिम युएई सरकारले दोषी तथा पीडितका परिवारलाई २०६७ वैशाखमा पत्र पठाई मृत्युदण्ड दिने, क्षतिपूर्ति रकम लिई माफी गर्ने र रकम नलिई माफी गर्ने तीनवटा विकल्पमध्ये एक रोज्न भनेको थियो। क्षतिपूर्ति रकम लिई वा नलिई माफी दिने हो भने सन् २०१२ सेप्टेम्बरभित्र दोषी र पीडित परिवारबीच सहमति गरी पत्र पठाउन युएई सरकारले आग्रह गरेको थियो। सेप्टेम्बर ३१ सम्ममा सहमतिपत्र नआए दुर्गाबहादुर दिइएको मृत्युदण्डको सजाय कार्यान्वयन गर्ने युएई सरकारको पत्रमा उल्लेख थियो।

वैदेशिक रोजगारीको सिलसिलामा २०६० सालमा युएई गएका दुर्गाबहादुर त्यसपछि नेपाल फर्केका छैनन्। सन् २००९ जनवरी १४ का दिन सुनसरी हाँसपोसा- २ का गणेशबहादुर बस्नेतको हत्याको आरोपमा उनलाई युएईको सारजहाँ प्रहरीले पक्राउ गरेको थियो। सन् २०१० मा सारजहाँ अदालतले उनलाई दोषी ठहर गर्दै तीन विकल्प दिई मृत्युदण्डको सजाय सुनाएको थियो।
स्रोत :नागरिक न्यूज

Posted by Butwalonline on 7:33 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " दुर्गाबहादुरको मृत्युदण्डको सजाय माफी हुने "

Leave a reply