भोलि तपाईंको कम्प्युटरमा इन्टरनेट नचल्न सक्छ
काठमाडौं, असार २४ (एजेन्सी) - तपाईंको कम्प्युटरमा इन्टरनेटसँग जोडिएको छ की छैन? जोडिएको छ भने सावधान! किनभने भोलि पौने दस बजेदेखि कम्प्युटरमा इन्टरनेट नचल्न सक्छ। ह्याकरहरुले तपाईको कम्प्युटरमा सुटुक्क राखेको ‘डिएनएस चेन्जर' नामको ‘मालवेयर'को कारण इन्टरनेट नचल्ने हुनसक्छ।
लामो समयदेखि यस्तो ‘मालवेयर'बाट संक्रमित कम्प्युटरलाई अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबिआई) को दुई वटा अस्थायी सर्भरले इन्टरनेटसँगको पहुँचमा पुर्याउँदै आएका थिए। आफ्नो देशको कम्प्युटरलाई संक्रमणबाट बचाउनका लागि एफबिआईले त्यो तयार पारेको थियो। तर अमेरिकाको समयअनुसार सोमबार बिहान १२ : ०१ बजे त्यो दुई वटै सर्भर बन्द गर्दैछ। यस्तो समस्या विन्डोज अपरेटिङ सिस्टम चलाउनेको कम्प्युटरमा मात्रै आउने छ। विन्डोजको अपरेटिङ सिस्टममा रहेको कमजोरीबाट फाइदा उठाउँदै ह्याकरहरुले यो मालवेयर कम्प्युटरमा घुसाउन सफल भएका हुन्।
विश्वभरमा यो मालवेयरबाट ४० लाख कम्प्युटर संक्रमित छन्। तर नेपालमा यसबाट संक्रमित हुने कम्प्युटरको संख्या निकै सानो छ। यस विषयमा जानकारी दिने वेबसाइटअनुसार नेपालका कम्तीमा ४३ वटा कम्प्युटर(युनिक आइपी) यसबाट संक्रमित छ। तर संक्रमित इन्टरनेट कनेक्सन तपाईको पनि हुनसक्छ।
त्यसैले तल दिएको ठेगानामा आफ्नो कम्प्युटर चेक गरेर तपाई ढुक्क हुन सक्नु हुनेछ।
तपाईले आफ्नो आइपी संक्रमित छ की छैन भनेर निम्न ठेगानामा गएर जाँच्न सक्नु हुन्छ। यो जाँच्न सबैभन्दा विश्वसनीय बेवसाइट http://bit.ly/FBI-checker भएको लस एन्जलस टाइम्सले जनाएको छ।
तर यो साइटमा जाँच गर्दा लामो समय लाग्ने भएकाले तपाईले सरल ढंगबाट जाँच गर्न सक्ने विश्वासनीय वेबसाइटको प्रयोग गर्न सक्नु हुन्छ। सो पत्रिकाअनुसार http://www.dns-ok.us. यो एफबिआइसँग सम्बन्ध छ। तपाईको कम्प्युटर त्यसबाट संक्रमित छैन भने यस्तो स्त्रि्कनमा हरियो रंगको पृष्ठभूमीमा चित्र आउँछ। त्यसैगरी http://bit.ly/Mcafee-checker बाट पनि जाँच्न सकिन्छ। त्यसले मालवेयरबाट संक्रमित नभएको भेटेमा बधाईको सन्देश पठाउने छ।
यस्तो चित्र आए कम्प्युटर सो मालवयेरबाट संक्रमित छैन भनेर ढुक्क हुनसक्नु हुनेछ। गुगल र फेसबुकले पनि आफ्नो प्रयोगकर्तालाई त्यस विषयमा जानकारी दिने गरेको छ। ‘डिएनएस चेन्जर' नामको ‘मालवेयर'बाट कम्प्युटर संक्रमित छ भने। त्यस्तो भएन भने स्क्रिनमा रातो रंग पृष्ठभूमीमा तस्वीर आउँछ।
कम्प्युटर संक्रमित देखायो भने http://www.dcwg.org/fix/ मा गएर तपाईले समस्या समाधान गर्नुसक्नु हुन्छ।
तर कम्प्युटर सुरक्षा सम्बन्धी विज्ञहरुले महत्वपूर्ण तथ्याकंलाई संग्रहित गरेर हार्डड्राइभ फर्म्याट गर्न सल्लाह दिएका छन्।
साभार नागरिक न्यूज
