बुद्धको जन्मभूमि लुम्बिनी क्षेत्रमा सिसी क्यामरा जडान
भैरहवा, साउन १५- गौतम बुद्धको जन्मभूमि लुम्बिनी सुरक्षाको दृष्टिले मजबुत बनाउन लुम्बिनी विकास कोषले यस क्षेत्रमा सिसी क्यामरा जडान गरेको छ। विभिन्न समयमा चोरीलगायत घटना दोहोरिरहेकाले कोषले सिसी क्यामरा जडान गरेको हो। पहिलो चरणमा मायादेवी मन्दिरको वरिपरि जडान गरिएको छ भने दोस्रो चरणमा अन्य स्थानमा गरिने छ। अहिले मायादेवी मन्दिरको मुख्य प्रवेशद्वारभित्र र बाहिर, मन्दिरभित्र विभिन्न कोणमा छ वटा र कन्ट्रोल रुमलगायतमा गरेर १४ वटा सिसी क्यामरा जडान गरिएको छ। कोषले आफ्नो आन्तरिक कोषबाट करिब रु नौ लाखको लगानीमा सिसी क्यामरा जडान गरेको कोषका सदस्यसचिव राजन्द्र थापा मगरले बताए । रासस
