|

बुटवल क्षेत्रमा सडक बिस्तार अन्तिम चरणमा


पुष्पलाल पार्क भत्काईयो,अस्पतालका सटर हटाउन अन्तिम अल्टिमेटम

विनोद परियार । रूपन्देही,२५जेठ । झन्डै एक महिनाजति रोकिएको सडक विस्तार अभियानलाई पश्चिमाञ्चल सडक डिभिजन कार्यालय बुटवलले फेरी शुरु गरेको छ । प्राविधिक कारण देखाउदै सडक विस्तार अभियान बुटवल क्षेत्रमा आईपुगेपछि डिभिजनले रोकेको थियो । सडक डिभिजनले चैतदेखि नेपाल भारत सिमा नाका सुनौलीबाट सडक विस्तार थालेको हो ।

सुनौली,भैरहवा,पड्सरी,मणिग्राम हुदै शंकरनगरक्षेत्रका सरकारी तथा घर र दर्जनौं अस्थायी संरचना,टहराहरु हटाएको छ । बुटवलको योगिकुटिमा आएर रोकिएको सडक विस्तारलाई मंगलबारबाट पुन : तिव्र पारिएको छ ।

बुधबार लामो समयदेखि हटाउनुपर्छ र हटाउन हुदेन भनेर विवाद भएको बुटवलको पुष्पलालपार्क भत्काईएको छ । डोजरको प्रयोग गरेर पश्चिमतर्फको आधा भाग भत्काएको सडक डिभिजन कार्यालयका ईन्जिनियर धनीराम चौधरीले बताए । ‘सडकको आवश्यकता देखिएकाले पार्क भत्काईएको हो’उनले भने –‘सडकको जग्गा कसैले मिच्न पाउदैन ।’ उनका अनुसार पुष्पलाल पार्कलाई आवश्यकता अनुसार अझै भत्काउन सकिने समेत जनाए ।

पुष्पलाल पार्क भत्काउने बिषयमा राजनिति दवाव समेत परेको थियो । डिभिजनले हप्तादिनभित्रमा कुनै अवरोध नभए बुटवलको सडकलाई सफा पारिने दावी गरेको छ ।अञ्चल अस्पतालले निर्माण गरेको सटर समेत भत्काईने भएको छ । बुधबारनै सडक डिभिजनको डोजर लगाउने तयारी गरेकोमा अस्पतालले समय माग गरेपछि ५ दिनभित्रमा अस्पतालका सटर हटाईने भएको हो । अञ्चल अस्पतालकाका अध्यक्ष राजेन्द्र गुप्ताले मेडिकलका सामानहरु हटाउन समय लाग्ने भएकाले सडक विभागसंग पाँच दिन समय माग गरेको जनाए । उनका अनुसार सडक विभागले ३ दिनभित्रमा सामान हटाउन निर्देशन दिएको छ । अध्यक्ष गुप्ताले नियमअनुसार सटरलाई हटाउन आफुहरु सहमत भएको भन्दै सटरको सामान हटाउनलाई मात्रै समय माग गरिएको बताए । सडक डिभिजनले भने पटक पटक निर्देशन र पत्राचार गर्दापनि अस्पतालले अटेर गरेको बताएको छ ।

‘(आजै)बुधबारनै डोजर लगाउने मुडमा थियौं’ ईन्जिनियर चौधरीले भने–‘अस्पताले समय मागेकाले केहि दिन पर्खन्छौ ।’

उनका अनुसार जतिसक्दो चाडो हटाउन भनिएकाले पाचदिनपछि अञ्चल अस्पतालले निर्माण गरेको सटर हटाईने छ ।

यसैगरि बुटवल योगिकुटीदेखि गोलपार्कसम्म रहेका फुटपाथ पसल,घर,टहरा र अस्थायी संरचनाहरु पुरै हटाईने छ ।बुटवलको ट्राफिकचोकमा रहेको दुर्गा मन्दिरको सटर भत्काउन पर्ने जनाईएको छ । त्यसैगरि बहुमुखि क्याम्पस अगाडी नेपाली सेनाको ब्यारेकको बाहिरी संरचनालाई पनि हटाईने छ । राजमार्ग चौराहा,मिलनचोक लगायतका कतिपय ठाउमा बनाईएका अस्थायी संरचना भत्काईसेकेको छ । सडक विभागले डोजर लगाएर सडक क्षेत्रका अस्थायी संरचना हटाउदै आउन थालेपछि लामो समयदेखि विकल्पको माग गरेका बुटवलका सडक ब्यपारीहरु भने त्रसित भएका छन् । बसपार्क क्षेत्रमा रहेका ब्यपारीहरुले बुधबार नगरपालिकासमक्ष गएर विकल्प दिन माग गरेका छन् ।

नेपाल स्वरोजगार श्रमिक संघ बुटवलका अध्यक्ष श्याम केसिले नगरपालिकाल र सडक विभागले विकल्प दिने भनेर षड्यन्त्र गरेको बताएका छन् । ‘नगरपालिकाले कार्यदल गठन गरेर विकल्प नदिने अनि सडक विभागले डोजर लगाउन खोज्ने’ अध्यक्ष केसिले भने –‘ सडक ब्यापारीलाई विस्थापित गर्ने चलखेल हो ।’

उनले विकल्प विना कुनै पनि हालतमा नहट्ने बरु प्रतिकारमा उत्रिने उनले चेतावनि दिएका छन् । बुटवल क्षेत्रमा मात्रै करिब १२ सय पसडक ब्यापारीहरु रहेका छन् । सडक विभागले भने ब्यवसायिहरुलाई पहिल्यैदेखि सुचना गराएकाले अब पर्खन नसक्ने जनाएको छ । उसले किला गाडेर बनाईएका संरचनालाई कुनै पनि हालतमा संचालन गर्न नदिने जनाएको छ ।


कहाँ छ हटाउन बाँकी

सडक ब्यापारी               : बसपार्क क्षेत्र

अञ्चल अस्पतालको सटर      : अस्पताललाईन

दुर्गा मन्दिर क्षेत्र              :ट्राफिकचोक

नेपाली सेनाको पर्खाल        : बुटवल ५  

Posted by Butwalonline on 9:07 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवल क्षेत्रमा सडक बिस्तार अन्तिम चरणमा"

Leave a reply