तपस्वी रामबहादुर बमजनविरुद्ध जिल्ला वन कार्यालय बाराद्वारा पक्राउ पुर्जी जारी
काठमाण्डौं,असार १६ - तपस्वी रामबहादुर बमजनविरुद्ध जिल्ला वन कार्यालय बाराले पक्राउ पुर्जी जारी गरेको छ । अवैध रूपमा वन अतिक्रमण गरेको आरोपमा कार्यालयले बमजन र उनका चार अनुयायीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
बमजनसहित बोधी श्रवण धर्म संघका कार्यवाहक अध्यक्ष जसबहादुर वाइबा, सचिव रामकुमार थिङ, सदस्य बालहरि राई र दर्शन लिम्बूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रमुख वन अधिकृत रामनन्दन साहले बताए । वन अतिक्रमण गरेकाले उनीहरूविरुद्ध वन ऐनबमोजिम कारबाही गर्न पक्राउ पुर्जी जारी गरिएको उनको भनाइ छ ।
‘पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिसकिएको छ,’ साहले भने, ‘पक्राउ परेपछि वन ऐनअनुसार कारबाही हुन्छ ।’ प्रहरीले संघको नाममा रहेको बैंक खाता रोक्का गर्न सम्बन्धित बैंकलाई पत्राचारसमेत गरेको छ । इलाका प्रहरी कार्यालय सिमराका इन्स्पेक्टर केपी शर्माले सिमरास्थित एभरेष्ट बैंकमा संघको नाममा रहेको खाता रोक्का गर्न पत्र पठाइएको छ । संघका पदाधिकारीले अकुत रूपमा कमाएको सम्पत्तिसमेत जफत गरिने उनले बताए । शर्माका अनुसार हिमालयन, बंगलादेश बैंक र बैंक अफ काठमाडौंमा रहेका उनीहरू सबैको खाता रोक्का गर्न पत्राचार गरिएको छ ।
समाचार ऑनलाइन खबर बाट

