|

भ्रमण वर्षले अन्तर्राष्ट्रिय जगत्मा लुम्बिनीप्रति राम्रो सन्देश


२५५६ औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनीको केन्द्रीय नहरमा साढे 
आठ लाख रुपैयाँ खर्चेर पानी भरिँदै । तस्बिरः माधव/कान्तिपुर
लुम्बिनी, वैशाख २४ - प्रधानमन्त्री बाबुराम भट्टराईले मंसिर १५ मा 'लुम्बिनी भ्रमण वर्ष २०१२' को घोषणा गर्दा रमझम बेग्लै थियो । डेढ किमिभन्दा लामो केन्द्रीय नहरमा लाखौं रुपैयाँ खर्चेर भरिएको सफा पानी, बीचमा फोहरा, नहरमाथि बनाइएको आकर्षक मञ्च, रंगीचंगी आकाशमा उडेका बेलुन, स्वदेशी र विदेशी आमन्त्रित पाहुना । 
राष्ट्रपति रामवरण यादवले पुस ३० मा  कार्यक्रम उद्घाटन र नेपाल पर्यटन वर्ष २०११ को समापन गर्दा पनि लुम्बिनीको केन्द्रीय नहर परिसरलाई पहिलाको भन्दा अझ धेरै खर्चेर सजावट गरिएको थियो । अघिल्लो दिन केन्द्रीय नहरमा सञ्चालित बोटिङ 'नौका बिहार' को संस्कृतिमन्त्री गोपाल किराँतीबाट लुम्बिनी विकास कोषले उद्घाटन गराएको थियो ।
एउटै कार्यक्रम घोषणा र उद्घाटन भन्दै पन्ध्र दिनको अन्तरालमा ५० लाख रुपैयाँभन्दा बढी  खर्चिएर गरिएको तामझाम धेरै दिन भने टिक्न सकेन । दुई पटक गरेर करिब साढे ५ लाख रुपैयाँ खर्चेर भरिएको नहरको पानी प्रदूषित हुँदै सुक्न थाल्यो । नौका बिहार पनि बन्द भयो । केही दिनपछि नहर सुनिहार -स्यालजस्तै जनावर) र जंगली बँदेलको क्रीडास्थल बन्यो । कोषका कर्मचारी नहरबाट जनावर लखेट्नमै व्यस्त बने ।  नहरमा २५५६ औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनी आउने पर्यटकलाई देखाउन फेरि साढे ८ लाख रुपैयाँ खर्च गरेर मोटरले तानेर पानी भर्न र डुंगा सञ्चालन गर्न थालिएको छ । १० लाख पर्यटक भित्र्याउने उद्देश्यले सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्षले ४ महिना पूरा भएको छ । तर उद्घाटनबाहेक लुम्बिनीमा उल्लेखनीय केही हुन सकेको छैन । लुम्बिनीमा पर्यटक भित्र्याउने अभियानको थालनी र बुद्ध जन्मस्थलको अन्योलतालाई हटाउन थालिएको लुम्बिनी भ्रमण वर्षलाई सरकारबाट जसरी प्राथमिकता दिइनुपथ्र्यो, नदिँदा सोचेअनुरूपका कार्यक्रम कार्यान्वयनमा ल्याउन नसकिएको लुम्बिनी विकास कोषका सदस्यसचिव राजेन्द्र थापा मगरले बताए । 'लुम्बिनी भ्रमण वर्षलाई सरकारले दिएको डेढ करोड रुपैयाँको बजेटले क्यालेन्डर, टिसर्ट, मायादेवी मन्दिरको पोस्टर, रेडियो, टेलिभिजनबाट सामान्य घरेलु प्रचारप्रसारबाहेकका अन्य कार्यक्रम गर्न पुग्दैन,' उनले भने ।
भ्रमण वर्षको अवसरमा १०८ स्थानमा लुम्बिनीलाई चिनाउने दूरीसहितको 'माइल स्टोन' राख्न सुरु गरिएको बताउँदै उनले भ्रमण वर्षको चार वटा महत्त्वपूर्ण कार्यक्रम उद्घोष, उद्घाटन, बुद्ध जयन्ती र समापनबाहेक एक-दुई महिनापछि अन्तर्राष्ट्रियस्तरको सेमिनार गरिने योजना रहेको बताए । 'भ्रमण वर्षले अन्तर्राष्ट्रिय जगत्मा लुम्बिनीप्रति राम्रो सन्देश गए पनि आन्तरिक रूपमा प्रभावकारी कार्यक्रम आउन सकेन,' उनले भने ।

Posted by Butwalonline on 3:59 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भ्रमण वर्षले अन्तर्राष्ट्रिय जगत्मा लुम्बिनीप्रति राम्रो सन्देश"

Leave a reply