हलिउडका दुई नायिका विवाहको तयारीमा
लस एन्जल्स , वैशाख २४ - हलिउडका दुई नायिका एन्जेलिना जोली र जेनिफर लोपेज (जेलो) विवाहको तयारीमा छन् । नायक ब्राड पिटसँग लिभिङ टुगेदर गरिरहेकी छ सन्तानकी आमा जोली यसैवर्ष विवाह गर्न तयारी गरिरहेकी छन् । त्यसका लागि शारीरिक वजन बढाईरहेको खुलाइन् ।
उता, लोपेजले पनि चौथो विवाहका लागि प्रेमी क्यास्पर स्मार्टलाई चुनेकी छन् । 'जेलोले क्यास्परलाई सधैंको लागि बनाउन चाहेकी हुन्' उनी निकट साथीले भनेका छन् । १५ वर्षकै उमेरदेखि प्रेमको चक्कर चलाउन सिकेकी उनले ४२ वर्षको उमेरसम्म तीन जनासँग विवाह नै गरिसकीन् । गत वर्षमात्र मार्क एन्थोनीसँग पारपाचुके गरेकी जेलो त्यसपछि भने आफ्नै ब्याकअप डान्सर क्यास्परसँग नजिकिएको चर्चा चलेको थियो । विवाहको कुराले त्यसलाई सत्य साबित गरिदिएको हो ।
ब्रान्जेलिना जोडीले भने यसअघि तय गर्न नसकेको विवाहलाई यसपटक साकार पार्ने औपचारिक घोषणा गरिसकेका हुन् । सात वर्षदेखि सँगै बस्दै आएका उनीहरुबाट तीन बच्चा जन्मिसकेका छन् भने बाँकी तीन एडप्ट गरिएका हुन् । सन्तुलित शरिरका लागि तौल घटाएकी जोलीले विवाहमा भने केही तौल बढाउने भएकी छन् । 'उनी दाबिलो परेको शरिरमा केही मासु थपेर शरिरलाई पुष्ट पार्न चाहिरहेकी छन्' उनीबारे एक पत्रिकाले लेखेको छ, 'यसका लागि झण्डै १० पाउण्ड तौल बढाउन खोजिरहेकी छन् ।'
साभार कांतिपुर दैनिक
