बन्दका क्रममा नवलपरासीमा झडप,आधादर्जन सवारी तोडफोड
नवलपरासी , वैशाख २६ - थारु स्वायत्त प्रदेशको माग गर्दै मंगलबार आह्वान गरिएको बन्दमा झडप भएको छ । नवलपरासीको डण्डामा भएको झडपमा करिब आधा दर्जन व्यक्ति घाइते भएका छन् ।बन्दकर्ताहरूले लु५प ८८५३ नम्बरको मोटरसाइकल जलाएका छन् भने अन्य ७ वटा सवारी तोडफोड गरेका छन् । ना२ख ७९६१ नम्बरको बस, एउटा ट्रक र अन्य ४ वटा मोटरसाइकल तोडफोड गरेका छन् ।थारु समुदायका बिभिन्न संगठनहरुको सम्लग्नतामा आब्हान गरिएको हो ।
ब्राह्मण र क्षेत्रिसमुदायले बुटवलमा आयोजना गरेको आमसभामा जान रिर्जभ गरेका करिब एक दर्जन बस डण्डा पुगेपछि प्रदर्शनकारीले अवरोध पुर्याएका थिए ।त्यसक्रममा बन्द कर्ता र आमसभामा हिँडेकाहरुबीच भनाभन भएको थियो । आमसभामा हिँडेकाहरुले आफूहरुको पूर्वनिर्धारित कार्यक्रम भएकाले बिना अबरोध जाउआउ गर्न पाउनु पर्ने माग गरेका थिए ।
अवरोध कर्ताहरूले राजमार्गमा राखेको ढुङ्गामुढा पन्छाएर उनीहरु बुटवलतर्फ लागेका थिए । बन्दकर्ताहरूले आफूहरूको बन्द अवज्ञा गरेको भन्दै राजमार्गमा चलेका मोटरसाइकलमा तोडफोड गरेपछि बिवाद बढेको थियो । बन्द विरोधीहरूले अग्यौली गाविसमा रहेको थारू संग्राहलयको कार्यालयमा तोडफोड गरेका छन् । उनीहरूले त्यहाँका फर्निचर र झ्यालका सिसा समेत तोडफोड गरेका छन् ।घटना लगत्तै कावासोतीवाट पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ । त्यहाँको स्थिति अहिले सामान्य रहेको छ भने राजमार्गमा यातायात ठप्प छ । नवलपरासीमा बजार, कलकारखाना, शैक्षिक संस्था सबै बन्द छन् ।
समाचार कांतिपुर दैनिक बाट