अर्घाखाँचीका विद्यालयहरुलाई शान्ति क्षेत्र घोषणा
अर्घाखाँची, जेष्ठ ५ - हरेक पटक हुने बन्द हडतालले विद्यार्थीको पढाई प्रभावित भएको भन्दै जिल्लाका सबै विद्यालयहरुलाई शान्ति क्षेत्र घोषणा गरिएको छ । यहाँ बन्दको बेला विद्यालयहरु सञ्चालनमा अवरोध नगर्ने निर्णय भएको छ ।
जिल्ला शिक्षा कार्यालय र प्याब्सनको संयुक्त आयोजनामा भएको सर्वपक्षीय र सर्वदलीय बैठकले विभिन्न जाति समुह र राजनीतिक दलले आयोजना गर्ने बन्द हडतालका बेला अर्घाखाँचीका सरकारी तथा नीजि विद्यालयहरुमा पढाई बन्द नगर्ने प्रतिबद्धता जनाएका छन ।
यस अघि बन्दको बेला विद्यालयको पढाई ठप्प भए पनि विहीबार साँझ बसेको बैठकले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्दै कुनै राजनीतिक दलले बन्द हडतालमा विद्यालय बन्द नगर्ने सहमति भएपछि शुक्रवारदेखि पढाई सुचारु भएको छ । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरौं, बन्दमा विद्यालयको पढाई सुचारु गरौ भन्ने प्रतिबद्धतामा जिल्लाका राजनीतिक दलका नेता, विद्यार्थी संगठन, शिक्षक संघ संगठन, शिक्षा कार्यालय र सरोकोरवालाले हस्ताक्षर गरेको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले बताए ।
शुक्रबार राप्रपा नेपालले गरेको नेपाल बन्द र अखण्ड लुम्बिनीको माग गर्दै लुम्बिनी एकता समाजले गरेको लुम्बिनी अञ्चल बन्दमा जिल्लाका कलकारखाना, बजार यातायाता ठप्प भए पनि विद्यालय सञ्चालनमा छन ।
समाचार कांतिपुर बाट