स्त्री चरित्र दैवो नजाने
नेपाली समाजमा चिनिएका धेरै महिला नेतृ, कार्यकर्ता, सामाजिक अभियन्तामाथि पटक-पटक चरित्रको प्रश्न उठाउने गरिन्छ । समाजका अगुवा र बौद्धिक जमातले यसबारे गहिरिएर ध्यान दिएको छ्र्रैन । तर घटनाक्रमको सूक्ष्म अध्ययन गर्यो भने देखिन्छ, घरबाहिर निस्कनु महिलाका लागि ज्यादै जोखिमपूर्ण काम हो । तराईका जिल्लामा बसेर पत्रकारिता गरिरहेकी एक पत्रकार महिला आफ्ना शिक्षक लोग्नेले 'परिवारको इज्जतमा दाग लाग्नसक्ने' भनेर उनको चरित्रमा शङ्का गर्न थालेपछि अहिले 'पेसा छाडौं कि लोग्ने' भन्ने दोधारमा छिन् ।
महिलाहरु घरबाहिर निस्किएर जब काम र अवसरमा प्रतिस्पर्धा गर्न थाले, यसले समाजको आयाम नै बदलिन थाल्यो । उनीहरु पनि समाज र बजारसंँग प्रतिस्पर्धा गर्न थाले । आफ्नै पहिचान, सामथ्र्य र कमाइमा बाँच्न थाले । बाबु वा लोग्नेसंगको निर्भरता घटना थाल्यो । महिलाको आत्मविश्वास र सशक्तीकरण बढ्न थाल्यो । शिक्षाले ल्याएको परिवर्तन र समयले दिएको चेतनाका कारण न्यून संख्यामै किन नहोस्, महिला पनि आफ्नो निर्णय आफैं गर्न सक्ने हुँदै गए । तर यसमा पनि नकारात्मक टिकाटिप्पणी गरिंदो रहेछ । केही नपाए महिलाको कथित चरित्रलाई हतियार बनाई उनलाई सिध्याउन समाज वा परिवार पनि अगाडि सर्ने रहेछ । एकजना चर्चित गायिकाले आफ्ना गीतहरु 'हिट' हुन थालेर आफू घरबाहिर ब्यस्त हुन थालेपछि परिवारले चरित्रमा प्रश्न उठाएको सार्वजनिक रूपमै खुलासा गरेकी छन् ।
पुरुषप्रधान समाजको यो चरित्रको सिकार राजनीतिमा आएका महिलाहरु पनि भएका छन् । निष्ठाको राजनीतिकी अगुवा स्वर्गीय शैलजा आचार्यलाई वर्षौसम्म छिमेकी मुलुकका एकजना राजनीतिज्ञसँग जोडेर बदनाम गरियो । निरन्तर राजनीतिमा सक्रिय रहेर आफ्नो पहिचान स्थापित गरेकी एमाले नेतृ विद्या भण्डारीलाई अहिले पनि कसैको साथ र समर्थनमा उपाध्यक्ष भएको छुद्र टिप्पणी गरिन्छ । कुनै समय माओवादी नेतृ पम्फा भुसाललाई समेत कसैको आडमा नेतृत्वमा पुगेको भन्न बाँकी राखिएन । मधेसी राजनीतिमा बलियो हैसियत बनाएका केही महिला नेतृहरुलाई अहिले पनि पुरुष नेताहरुसँग जोडेर बदनाम गर्ने प्रयत्न भइरहेको छ । कतिसम्म भने त्यही हैसियतमा रहेका माओवादी, कांग्रेस र एमाले र मधेसवादी दलका पुरुष नेताहरुका चरित्रमाथि खासै टिप्पणी गरिन्न, धेरै हदसम्म उनीहरुका काम र व्यवसायबारे मात्रै टिप्पणी हुने गर्छ । समाज, धर्मशास्त्र र रीतिरिवाजले पटक-पटक उठाउने चरित्रको प्रश्नभित्र के-के पर्दोरहेछ भनेर मैले गहिरिएर बुझ्न खोजें । कुनै महिला ऋण खाएर नतिर्ने खालकी छ, झुठो कुरामात्रै बोल्छे, अरुलाई आदर सम्मान गर्दिन भनेर उसको चरित्रमा प्रश्न गरिंदो रहेनछ, बरु कसैको यौनिकतामाथि सहजै लाञ्छनामात्र लगाइँदो रहेछ ।
महिलालाई अगाडि बढ्नबाट रोक्नुछ वा सामाजिक रूपमा हुर्मत लिनुछ र पतन गराउनुछ भने सबभन्दा सजिलो तरिका हो- उसमाथि चारित्रिक लाञ्छना लगाउनु, जसलाई प्रमाणित गर्नै पर्दैन । हामीले गहिरिएर हेर्यौं भने यस्तै कथित चारित्रिक लाञ्छनाबाट जोगिन समाजमा कस्ता-कस्ता अपराध भएका छन् । कथित चरित्र जोगाउन बाबुआमाहरु उमेरै नपुगी छोरीको विवाह गर्न विवश छन् । घरपरिवार भित्रका हिंसा सहेर पनि महिलाहरु आफूलाई चरित्रवान देखाउन विवश छन् । पेसा र व्यवसायबाट पलायन हुने र चुनौतीपूर्ण काम गर्न पछाडि हट्ने पनि छन् । किनभने उनीहरु हरेक पाइलामा आफूलाई कसैले चरित्रहीन भनिदेला, परिवार र समाजले यसबारे कुरा उठाउला वा थाहा पाउला भनेर पाइला-पाइलामा डराउँछन् ।
समाजको यो प्रवृतिको सिको गरेर प्रतिस्पर्धाको एउटा चरणमा पुगेपछि अथवा आफ्नो स्वार्थ पूरा गर्न कतिपय महिलासमेत पुरुषको सिको गरेर महिलाको चरित्रमाथि हमला गर्न अघि सर्दारहेछन् । भर्खरैमात्र नायिका रेखा थापाले नेपाली चलचित्र क्षेत्रमा आफूमाथि चरित्रको आरोप लगाउनेहरु पुरुषभन्दा महिला धेरै रहेको खुलासा गरेकी छन् । उनले भनेकी छन्, 'एउटा पुरुषले महिलाको घरै बर्बाद होस् भनेर कमै सोच्छन्, तर यहाँ त यस्ता केही महिला पनि छन्, जसलाई कसरी अर्काको घर बर्बाद गर्ने भन्नेबाहेक अरु सोच्ने फुर्सद नै छैन ।'
एक साता अघिको कुरा हो, नेपालको नीति निर्माण तहमा क्रियाशील एकजना चर्चित मुस्लिम महिला तनावमा भेटिइन् । भनिन्, 'मलाई प्रतिस्पर्धी देख्नेहरुको योजनामा मेरो कथित चरित्रबारे दुइटा साप्ताहिक पत्रिकामा लामो इमेल पठाइएको छ भनेर मलाई कसैले सुनाइदियो मात्र । यसबारे मैले सबै कुरा श्रीमानलाई भनें । उहाँले वास्तै नगर भन्नुभयो, तर मलाई अहिले पनि तनाव हुन्छ ।' नेपाली समाजमा यस्ता गुमनाम तनाव भोग्ने महिलाको संख्या कति होला, हामी अनुमान गर्न सक्छौं ।
अहिले पनि चाणक्य नीतिको आधार दिंदै भनिन्छ कि- स्त्री चरित्र दैवो नजाने । अर्थात् महिलाको चरित्र त भगवानलाई पनि थाहा हुन्न । यति सजिलै नारी अस्मितामाथि प्रश्न उठाउन सक्ने आधार पाएपछि महिलाको चरित्रहत्या गर्ने प्रयास किन सजिलै नहोस् पनि ?
साभार :कांतिपुर दैनिक