|

बच्चा जन्मेपछि डाक्टरलाई 'एसएमएस'


फलेवास (पर्वत), चैत्र २५ - बच्चा जन्मेपछि पहिलो जानकारी कसलाई दिनुहुन्छ ? परिवार वा इष्टमित्रलाई ? तर पर्वत जिल्लाका ग्रामीण स्वास्थ्य संस्थामा बच्चा जन्मेपछि पहिलो जानकारी जिल्ला अस्पतालका डाक्टरलाई दिन थालिएको छ ।
स्वास्थ्य संस्थामा दक्ष प्रसूतिकर्मीबाट बच्चा जन्मेपछि अस्पतालका डाक्टरलाई बच्चाको ठेगाना, तौल, मिति र समय तथा लिङ्ग उल्लेख गरेर एसएमएस पठाउन थालिएको हो ।
दुई हप्तादेखि सुरु गरिएको यो अभियानका कारण गाउँमा रहेका स्वास्थ्य संस्थामा सुत्केरी गराइने कार्यको अभिलेखीकरण गर्न र सल्लाह सुझाव दिन सहज भएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । अहिले हप्तामा पाँच जनासम्म बच्चा जन्मेको जानकारी आउन थालेको अस्पतालका प्रमुख डा. सागर राजभण्डारीले जानकारी दिए ।
पर्वत जिल्ला अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र, ११ स्वास्थ्यचौकी र तीनवटा उपस्वास्थ्यचौकी गरी १७ स्वास्थ्य संस्थामा २४ घन्टे प्रसूति सेवा सुरु गरिएको छ । सुरक्षित प्रसूति सेवा सुरु गरिएका स्वास्थ्यचौकीमा स्टाफ नर्स र अनमीले सुत्केरी गराउने भएकाले आमा र नवशिशुको अकालमा ज्यान जानबाट रोक्न सहयोग पुगेको छ ।
प्रसूतिकर्मीले सुत्केरी गराउने क्रममा समस्या परेमा मोबाइलमार्फत तत्काल सम्पर्क गर्ने र समाधानका लागि प्रयास गर्ने व्यवस्थासमेत लागू गरिएको डा राजभण्डारीले बताए ।
पर्वत जिल्लामा वार्षिक पाँच हजार २२२ बच्चा जन्मने र जन्मेकामध्ये चार हजार ७०२ जना जीवित रहने गरेको कार्यालयले जनाएको छ ।
स्रोत :कान्तिपुर दैनिक 

Posted by Butwalonline on 5:13 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बच्चा जन्मेपछि डाक्टरलाई 'एसएमएस'"

Leave a reply