कांग्रेस सभासद् लक्ष्मी परियार माथि आक्रमण
उदयपुर, चैत्र २६ - युवकहरुको एक समूहले कांग्रेस सभासद् लक्ष्मी परियारलाई उदयपुरको त्रियुगा नगरपालिका- ८ बगहास्थित सालधारी चौकमा आइतबार बिहान आक्रमण गरेका छन् ।
ना ३ ख ५०७२ नम्बरको परेली यातायतमा काठमाडौंबाट गाइघाट आउँदै गरेकी सभासद् परियारलाई बिहान ५ बजे सालधारी चौकमा बस रोकेर ८/९ जनाको समूहले कुटपिट गरेको हो । परियारसँगै एउटै बसमा चढेर आएका राजन मगरको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
काठमाडौबाटसँगै आएका मगरसँग बाटोमा सभासद् परियारका कान्छा भाइ सन्दिप टेलरसँग वादविवाद भएको बिषयलाई लिएर युवकको समूहले बस रोकेर तल झारेर कुटपिट गरेकेा परियारले वताइन् । कुटपिटबाट परियारको अनुहार र तिघ्रामा चोट लागेको छ ।
सँगै आएका मगरले बोलाएको युवक समूहले भाइलाई कुट्न खोज्दा बचाउ गरेको भन्दै आफूलाई पनि लात्तै-लात्तले हानेको सभासद् परियारले वताइन् । परियारका भाइ सन्दिप घरेलु कार्यालय राजविराजका लेखापाल हुन् ।
सभासद् परियारकालाई कुटपिट गर्ने समूहको पहिचान भइसकेको प्रहरी निरीक्षक खग्रेन्द्र खड्काले वताए । 'सभासद् परियारलाई कुटने समूहको पहिचान भइसकेको छ,' उनले भने, 'तर पक्रन सकेका छैनौं ।'
परियार कांग्रेसकी समानुपातिक सभासद् हुन् । उनी कांग्रेस क्षेत्र नम्वर १ उदयपुरको क्षेत्रिय सम्मेलनमा भाग लिन आएकी हुन् ।
स्रोत :कान्तिपुर दैनिक