अभिभावकसंग अस्पताल लैजाने ६ हजार रुपैयाँसमेत नहुँदा एक बालिका जीवन र मृत्युको दोसाँधमा
अर्घाखाँची, चैत्र २६ - भीरबाट लडेर गंभिर घाईते भएकी एक बालिका १२ दिनदेखि जिल्ला अस्पतालमा जीवन र मृत्युको दोसाँधमा छन् । उनका अभिभावकसंग क्षेत्रीय अस्पताल लैजाने ६ हजार रुपैयाँसमेत नहुँदा उपचार त के जचाउनसमेत पाएकी छैनन् ।
डोजरले मोटरबाटो खनेको हेर्न दौडेर गर्दा १२ दिनअघि प्युठान बांगे गाविसकी ६ वर्षीया विमला पुन डरलाग्दो भीरबाट खस्न पुगिन्, त्यही दिनदेखि यि अवोध बेहोस छिन् । उनलाई जेनतेन अभिभावकले ऋण गरेर जिल्ला अस्पताल सन्धिखर्क त ल्याइपुर्याए तर, त्यहाँ उपचार हुन नसक्ने भनेपछि भैरहवा लैजाने खर्च भएन ।
‘छोरी १२ दिन देखि बेहोस अवस्थामै छिन’, वाबु चन्द्र बहादुर आफ्नो विवसता पोख्छन्, ‘दुई दिनसम्म गाउँभरी ऋण खोज्दा १५ सय रुपैयाँ जुटाएर जिल्ला अस्पतालमा ल्याएर चेक गराएँ, भैरहवा लैजा भनेका छन्, कसरी लैजाने खै ।’
टाउकोको भित्री भागमा गंभिर असर परेको भन्दै डाक्टरले छोरीलाई तुरुन्तै भैरहवा लैजान भनेपछि उनी अल्लनमल्लमा परेका छन् । 'मसंग एक सय रुपैयाँ मात्र थियो, भैरहवा पुर्याउन ६ हजार रुपैयाँ लाग्ने भनेपछि के गर्ने के गर्ने भएको छु' अस्पताल परिसरमा चिन्तित देखिएका चन्द्र बहादुरले भने ।
गरिबीका कारण अचेत अवस्थामा रहेकी छोरीको पीरले दुःखी बनाएको उनले बताए । ‘मेरो छोरीको उपचार गर्न लैजान ६ हजार पैसा कहाँबाट जुटाऔं अस्पतालमा भेटिएकासित माग्दा कसैले दिएनन्’, उनी दुखेसो पोख्छन् ।
अर्घाखाँचीको गोखुगां गाविसको विडडाँडा देखी प्युठानको वांगे गाविससम्म जोडने मोटरबाटो डोजरले खन्दै गरेको हेर्न गाउँका साथीहरुसँगै बिमला पनि दौडदै गर्दा घर नजिकैको डरलाग्दो भीरको छाँगोबाट उनी खसेकी थिइन् । छाँगोबाट करिब ३ सय मिटर तल खसेपछि अहिलेसम्म उनी बेहोस छिन ।
‘डाक्टरले विमलाको टाउँको भित्र गंभिर असर पुगेको छ यहाँ उपचार हुन सक्दैन भनेपछि पैसा भएन’, बाबु चन्द्रबहादुरले भने । छोरीको उपचार खर्च कसैले दिए मेरो लागि भगवान आए जस्तै हुने आशामा बुवा चन्द्र बहादुर भन्छ्न । पाँच छोराछोरी मध्ये विमला उनकी कान्छी छोरी हुन् ।
सम्पतिको नाममा छ मानाको बीउ लाग्ने मकैबारी र छाप्रो रहेका चन्द्रबहादुरको परिवारलाई तीन महिना मुस्किलले आफ्नै आयस्थाले खाना पुग्छ । त्यसपछि बनीबुतो गरेर परिवारको गुजारा चलाउँछन् । त्यसो त उनी आफैपनि निरोगी छैनन् । भन्छन्, '२१ बर्षकै उमेरमा भारतमा काम गर्दा जण्डिस भएको थियो, उपचार राम्रोरी गर्न नपाउँदा मलाई अझै सताइरहेको छ ।'
जिल्ला अस्पतालको वेडमा पल्टिरहेकी विमलामा केही सुधार आएजस्तो आभास भएपनि १२ दिनसम्म खासै सुधार नभएको त्यहाँको चिकित्सको भनाई छ । तत्काल निको भएजस्तो भएपनि बाहिर नलगिएमा पछि असर नराम्रो हुने अस्पतालले जनाएको छ । ‘टाउकोमा गंभिर चोट लागेकाले सिटीस्क्यान गनुपर्छ, जुन यहाँ संभव छैन’, जिल्ला अस्पताल प्रमुख डा. चित्र प्रसाद शर्मा वाग्लेले भने, ‘सामान्य खालको नदुख्ने औषधि मात्र खुवाएका छौं, पैसा छैन भनेर लैजान मानेनन् के गर्ने विमलालाई आजसम्म भगवानले बचाईदिएका छन भोली के हुने हो भन्न सकिदैन ।’
टाउको भित्र दिमागमा गंभिर असर परेकाले १ देखि २ लाख रुपैयाँ खर्च लाग्न सक्ने डा. वाग्लेले बताए । आर्थिक अभाव देखाएपछि अस्पतालले औषधी लगायतका सबै खर्च अहिलेसम्म नि:शुल्क दिएको छ ।
स्रोत :कांतिपुर दैनिक