उपचार खर्चको अभाबमा बच्चा अस्पतालकै बेडमा छोडेर आमा बेपत्ता
बुटवल, वैशाख १३-गरिबीको नियति पनि कस्तो । सन्तान जन्मिएको खुसियालीमा आफन्त र परिवारसँग खुसी बाँड्नुपर्ने बेला अस्पतालकै बेडमा बेवारिसे छाड्दै आमा बेपत्ता हुन पुगेकी छन् । त्यो पनि उपचार खर्च जुटाउन नसकेर ।
श्वासप्रश्वास समस्याले बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालमा भर्ना गरिएका खयरघारीकी संगीता बस्यालका ६ दिने छोरा अलपत्र परेका हुन् । अस्पतालको आईसीयू कक्षमा भर्ना गरिएका उनको उपचार रकमको जोहो गर्न नसक्दा चार दिनदेखि परिवार कोही पनि अस्पताल गएका छैनन् । यसले शिशुको उपचार नै प्रभावित भएको छ ।
संगीताले यही वैशाख ७ गते लुम्बिनी अञ्चल अस्पतालमा छोरा जन्माएकी थिइन् । जन्मनासाथ श्वासप्रश्वास समस्याबाट ग्रस्त शिशुलाई लगत्तै सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा भर्ना गरिएको थियो । भर्ना भएकै दिनदेखि शिशुलाई अक्सिजन दिएर आईसीयू कक्षमा राखिएको छ । अस्पतालका अनुसार अक्सिजन दिनुपर्दा प्रतिघन्टा १ सय रुपैयाँ खर्च लाग्छ । दिनभरि काम गरेर साँझ गुजारा चलाउने संगीताले अहिलेसम्म ऋण गरेर ल्याएको १५ हजार खर्च गरेकी छन् ।
उक्त रकमले नपुगेपछि थप रकम जोहो गर्न नसक्दा अस्पताल जान छोडेको सुत्केरी संगीताको भनाइ उद्धृत गर्दै अस्पतालका अन्य कुरुवाले बताए । उनीहरूका अनुसार शनिबार अस्पताल पुगेकी संगीता छोरा समाएर धेरैबेर रोएकी थिइन् । 'अब साथमा एक पैसा छैन । बाबु मैले तिम्रो उपचार कसरी गरूँ । मैले पैसा जुटाउन नसकेका कारण तिमी मर्नु नपरोस् । म अभागिनी अब फर्केर आउन सक्दिनँ,' शनिबार निस्कने बेलामा यसै भन्दै संगीता धेरैबेर रोएको प्रत्यक्षदर्शी बुटवलका सञ्चारकर्मी लक्ष्मण पौडेलले बताए ।
अस्पतालका निर्देशक डा. विनोद पराजुलीले परिवारको आर्थिक अवस्था दयनीय भएकाले बेड चार्जसम्ममा छुट गर्न सक्ने बताए । उनले शिशुको छाती र फोक्सोमा समस्या देखिएकाले अझै तुलनात्मक सुधार नआएको र आफन्त पनि नआउँदा झन् समस्या भएको जनाए ।
कसैले उपचारमा सहयोग गरे मेरो छोरो बाँच्थ्यो भन्दै संगीता अधैर्य भएर रोएपछि अस्पतालमा पौडेललगायत कुरुवाले केही रकमसमेत सहयोग गरेको उनले बताए । जति बेला पनि मदिरा खाएर मात्तिने शिशुका बाबु बुटवलमै भए पनि श्रीमतीको प्रसूति अवस्था र छोराको उपचारमा पूरै बेवास्ता गरेका थिए । उनी एकपटक पनि अस्पताल आएका छैनन् ।
शिशुको स्वास्थ्यमा भने केही सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताए । श्वासप्रश्वासमा पनि केही सुधारका संकेत देखिएकाले सोमबारदेखि उनलाई पाइप लगाएर ल्याक्टोजिन खुवाउन थालिएको छ । आफन्त नै नआएपछि थप उपचार कसरी गर्ने भन्ने समस्या परेको उनीहरू बताउँछन् ।
स्रोत :कांतिपुर दैनिक