दाइजोको निहुँमा ससुरालीमा आगजनी
राजविराज, वैशाख १२-सप्तरी सदरमुकाम राजविराजमा एक युवकले पत्नीसहित ससुरालीका परिवार सुतिरहेको अवस्थामा ससुराली घरमा आइतबार राति आगजनी गरेका छन् ।
राजविराज २ स्थित चनोरा पडरिया ९रहमतपुर० का मोहम्मद अलाउद्दीनका ६ जनाको परिवारजनलाई उनकै ज्वाइँले दाइजो नदिएको भन्दै घरमा पेट्रोल छर्किएर आगो लगाइदिएका हुन् । भारतको सहरसा जिल्लास्थित मोहनपुरनिवासी ज्वाइँ मोहम्मद इलियासले आफ्नै श्रीमती र सासूससुरासहित परिवार सुतिरहेको अवस्थामा आगो लगाइदिएका हुन् ।
घरमा आगलागी भएपछि इलियासका ५५ वर्षीय ससुरा अलाउद्दीन, ५० वर्षीया सासू कुल्सुम खातुन, ३० वर्षीया श्रीमती हसिना खातुन, १४ वर्षीया सोल्टी सबिना खातुन, १० वर्षीया सोल्टी मोमिना खातुन र ८ वर्षीय सोल्टा मोहम्मद अफजल घाइते भएका छन् । घाइते सबैको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
परिवारका अन्य सदस्य सुतिरहेको र आफू सुत्न तर्खरमा रहेको अवस्थामा घरमा पेट्रोलको गन्ध आएको थाहा पाएपछि ढोका खोल्दा ज्वाइँले सलाई बालेर भागेको ससुरा अलाउद्दीनले बताए ।
ुछोरी बिहेपछि पटकपटक १०र१५ हजार गरी दाइजोस्वरूप पैसा लग्दै थियो,ु हसिनाका बुबा अलाउद्दीनले भने, ुफेरि पैसा माग्दै थियो, हामीले दिन नसक्ने बताएपछि घरमै आगो लगाइदियो ।ु
आगजनी गर्ने इलियासलाई स्थानीयको सहयोगमा प्रहरीले भारतीय सीमावर्ती नेपाली गाउँ तिलाठीबाट पक्राउ गरेको छ । पीडित परिवारले इलियासमाथि ज्यान मार्ने मुद्दा लगाएर कडा कारबाही गर्न स्थानीय प्रहरीसँग माग गरेका छन् । प्रहरी उपरीक्षक गणेशबहादुर थापाले घटनाबारे अनुसन्धान भइरहेको र दोषीलाई कानुनबमोजिम कारबाही गरिने बताए ।
स्रोतः कान्तिपुर