|

घरमा सुतिरहेको २१ वर्षे युवक पाँचदिनदेखि बेपत्ता

गजेन्द्र बोहरा, दाङ चैत २२- राति घरमा सुतिरहेको २१ वर्षे युवक पाँचदिनदेखि एकाएक 'बेपत्ता' छन्। घरपरिवारलेसमेत कोही कसैमाथि आशंका नगरेपछि प्रहरीको अनुसन्धानबाट पनि अहिलेसम्म उनी फेला परेका छैनन्। 


दाङ तुलसीपुर नगरपालिका १० भट्टे निवासी २१ वर्षीय हर्कलाल शर्मा चैत १७ गते रातीदेखि वेपत्ता भएका हुन्। परिवारका अनुसार राती सुतिरहेको बेला करिब साढे १२बजेतिर उनी सुतेको ढोका खुलेको आवाज सुनेपछि उनका दाजु र बुवाले कोठमा हेर्दा उनी थिएनन्। 'एउटा गन्जी र हापपाइन्ट मात्रै लगाएर सुतेको थियो, चप्पल जुत्ता पनि त्यहीं छन्, अरु सबै कपडा कोठैमा छन्' उनका बुवा खलु धिताल शर्माले भने 'कसैले बोलाएर गयो, कि कसैले लगे कि क्यै पत्तो पाइएन।'
विवाहवारी गरिसकेका हर्कलालकी श्रीमती र छोरी चैतको १९ गते माइतीबाट आउँदै थिए। एसएलसी परिक्षाको तयारीको लागि गत कार्तिकदेखि नै उनकी श्रीमति विमला शर्मा र दुई वर्षीया छोरी रुकुमस्थित माइती घरमा बस्दै आएका थिए। एससएलसी परिक्षा सकेपछि उनी १९ गते तुलसीपुरस्थित घरमा फर्किएकी थिइन्।'उहाँ हराउनुभयो भन्ने फोनबाट थाहा पाएँ' उनले भनिन् 'त्यसपछि झनै आत्तिएर आएँ।' परिवारका अनुसार हर्कलाल कुनै मानसिक बिरामी पनि थिएनन्। बरु उनी गाउँका युवाहरुलाई जम्मा गरेर विकास निर्माण तथा अन्य सामाजिक कामहरुमा अघि सर्ने गर्थे। कोही कसैसँग कुनै पनि त्यस्तो ठूलो दुश्मनी नभएको भन्दै बाबु खलुले भने 'शंका गर्ने ठाउँ पनि कतै छैन, कसलाई के भन्ने?'
गाउँमा केही 'टाँठोबाठो' युवाका रुपमा चिनिने उनले पटकपटक गाउँका सामुदायिक बनहरुबाट बाहिरिने काठ दाउरालाई केरकार गर्ने गर्थे। गाउँलेका अनुसार आफूजस्ता गाउँका केटाहरुलाई बटुलेर उनले बाहिरिने काठ बैध रुपमा कटान भएको हो वा होइन भनेर केरकार गर्ने र त्यसपछि सम्बन्धित निकायमा खबर दिने गर्थे। त्यस दिन दिउँसो पनि गाउँबाट दुई ट्याक्टर काठ रोकेर उनले कागजपत्र हेरेका थिए।'कुनै काठ तस्करहरुले त्यस्तै रिस फेर्न पो लग्यो कि?' बाबु खलुले भने 'अरु त केही पनि थिएन।'
राति उनी हराएपछि दिउँसोपख उनका एकजना गाउँले साथीको मोबाइलमा फोन पनि आएको थियो। हर्कलाल आफैंले प्रयोग गर्दै आएको मोबाइल ९८४७८८५१९४नम्बरबाट फोन गरेर कसैले भनेको थियो 'तपाईको मान्छे हामीसँगै छ, कुरो मिल्यो भने छोडिदिन्छौँ।' त्यसपछि अरु कुरा भने केही हुन नपाएको उनले बताए। अहिले उक्त मोबाइलसमेत अफ गरिएको छ। त्यसपछि कुनै फोन वा फिरौतीका बारेमा त्यस्तो कुनै फोन नआएको परिवारले बताएको छ। उनको आर्थिक अवस्था पनि त्यत्ति छैन। गाउँमा करिब डेढ बिगाह खेतबारी भएका उनको परिवार खेती किसानी गरेरै जिविकोपार्जन गर्दै आएको छ।
सुतिरहेको छोरो एकाएक बेपत्ता भएपछि परिवारले इलाका प्रहरी कार्यालयमा खोजिदिनका लागि निवेदनसमेत दिएका थिए। त्यसपछि इलाका प्रहरी कार्यालयले अनुसन्धानका लागि नियमित प्रहरीहरु खटाइरहेको जनाएको छ। 'अपहरण हो या हराएको हो, त्यसबारे केही प्रष्ट छैन' इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक मदन थापाले भने 'अनुसन्धान गरिरहेका छौँ, परिवारबाट खासै सहयोग हुन सकिरहेको छैन, तर पनि हामी प्रयास गरिरहेका छौँ।'
स्रोत :नागरिक न्यूज 

Posted by Butwalonline on 7:32 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "घरमा सुतिरहेको २१ वर्षे युवक पाँचदिनदेखि बेपत्ता"

Leave a reply