शौच बसेका महिलामाथि टर्चबाल्ने ७ सशस्त्र प्रहरी निलम्बित
११ चैत, कपिलवस्तु । कपिलवस्तु नगरपालिका बरगदवा गाउँको खेतमा शौच बसेका महिलामाथि टर्चलाइट देखाउने सातजना सशस्त्र प्रहरी निलम्बनमा परेका छन् ।
अमर्यादित व्यवहार गरेको आरोपमा निलम्बनमा पर्नेमा सशस्त्र प्रहरी तौलिहवा सुरक्षा बेस क्याम्पका सहायक निरीक्षक रमेश परियार, वरिष्ठ हबल्दार चन्द्रबहादुर चौधरी, सहायक हबल्दार धनबहादुर योगी, हबल्दार केशवनाथ शर्मा, जवानहरू वकिल पुन, कुलबहादुर मर्साङ्मी र पुरन गिरी छन् । उनीहरूले बिहीबार साँझ गस्तीमा जाँदा शौच बसेका महिलामाथि टर्च बालेका थिए ।
त्यस्तो अमर्यादित कार्य नगर्न अनुरोध गर्ने स्थानीय युवक शम्भु भनिने भरतकुमार गुप्तालाई कुटपिट गरेका थिए । उनीहरूलाई सात दिनका लागि निलम्बन गरी अनुसन्धान अगाडि बढाइएको सशस्त्र प्रहरी उपरीक्षक हरिकृष्ण गिरीले बताए ।
जिल्ला प्रहरी कार्यालयमा प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम, प्रहरीउपरीक्षक सुरेश बस्नेत, राष्ट्रिय अनुसन्धानका अधिकृत रमेश यादव, सशस्त्र प्रहरी नायबउपरीक्षक गिरी र स्थानीय बासिन्दाबीच घटनाका विषयमा छलफल भई दोषीमाथि कारबाही थालिएको हो । स्थानीय बासिन्दाले शौच बसेका महिलामाथि गलत दृष्टि राख्ने र त्यसो नगर भन्ने शम्भुलाई कुटपिट गर्ने सशस्त्र प्रहरीलाई तत्काल कारबाही नभए सदरमुकाम तौलिहवा बजार बन्द गरी सशस्त्र प्रहरीको बेस क्याम्पमा आगो लगाइदिने चेतावनी दिएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको हो । दोषी प्रहरीलाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रजिअ कलामले बताए । घटनाको अनुसन्धान गर्न सशस्त्रका प्रहरी निरीक्षक मोहन केसीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
घाइते शम्भुका अनुसार प्रहरी सहायक निरीक्षक परियारले नै पहिले शौच बसेका महिलामाथि टर्च देखाएका थिए । ‘मैले त्यता टर्च नदेखाउनुहोस्, महिलाहरू शौच बसेका छन् भन्दा उनीहरूले उल्टै तथानाम गाली गर्दै मलाई कुटे’, उनले भने ।
शम्भुको तौलिहवा अस्पतालमा उपचार गराइएको छ । उनको टाउकामा पाँचवटा टाँका लगाइएको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित समाचारमा उल्लेख छ ।
बरगदा कानुन तथा न्यायमन्त्री वृजेशकुमार गुप्ताकेा गृहगाउँ हो । बरगदवामा २० प्रतिशत घरमा मात्रै शौचालय छन् ।
स्रोत:ओनलाइन खबर