|

दाहाल पुत्रलाई २ करोड दिएकोमा राजधानीमा प्रदर्शन


माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको टोलीलाई
सगरमाथा आरोहण गर्न २ करोड रुपैयाँ दिने सरकारी
 निर्णयविरुद्ध शनिबार राजधानीमा प्रदर्शन गर्दै नेविसंघ
 कार्यकर्ता । तस्बिरः कौशल अधिकारी/कान्तिपुर
 
काठमाडौं, चैत्र ५ - माओवादी अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाशको टोलीलाई सगरमाथा चढ्न दुई करोड
रुपैयाँ दिने सरकारी निर्णय २४ घन्टाभित्र फिर्ता लिन विभिन्न राजनीतिक दल र तिनका भ्रातृ संगठनले चेतावनी दिएका छन् । दाहालपुत्र प्रकाशलाई अर्को 'पारस' भन्दै उनीहरूले पहुँच र शक्तिका आधारमा राज्यको ढुकुटी बाँड्ने सरकारविरुद्ध आन्दोलन गर्ने जनाएका छन् ।
कांग्रेस नेता रामशरण महतले माओवादी सरकार 'कुशासनको नमुना' बनेको आरोप लगाउँदै अलिकति नैतिकता भए तत्काल निर्णय फिर्ता लिन चेतावनी दिए । 'कतिपय शेर्पा आरोही र म्याराथन धावकले ५/६ लाख माग्दासमेत दिएको छैन,' उनले भने, 'प्रचण्डकै छोरा र कार्यकर्ता भन्दैमा यति ठूलो रकम बाँड्न मिल्छ ?' सर्वसाधारणदेखि संसद्का सदस्यहरू सबैले दबाब दिएर निर्णय उल्टाउनुपर्ने उनले उल्लेख गरे ।
माओवादी सचिव सीपी गजुरेलले २ करोड रुपैयाँले दुर्गममा अस्पताल खोल्न पुग्ने बताए । 'पार्टी अध्यक्षको छोरा भएकाले धेरै टिप्पणी नगरौं,' उनले भने, 'दिइएको रकमले दुर्गममा अस्पताल खोल्न पुग्दो रहेछ भन्ने हाम्रो अनौपचारिक कुरा भयो ।'
सत्तारूढ घटक तराई मधेस लोकतान्त्रिक पार्टी नेता एवं भौतिक योजना तथा निर्माण मन्त्री हृयदेश त्रिपाठीले पनि विरोध हुँदाहुँदै सरकारले बेवास्ता गरी निर्णय गरेको आरोप लगाए । 'विरोध गर्दा पनि माओवादी मन्त्रीहरूले दिनैपर्ने भनेपछि निर्णय भएको हो । यो पि्रय निर्णय होइन,' उनले भने, 'बरु त्यो पैसा लुम्बिनीमा सडकदेखि अन्य पूर्वाधार बनाउन खर्चिएको भए हुन्थ्यो ।' निर्णयमा पुनर्विचार गर्न आइतबार प्रधानमन्त्रीसँग छलफल गर्ने उनले बताए । 'संस्था हो, शान्ति संविधानका लागि गरिएको अभियान भनियो,' उनले भने, 'कागजपत्र हेर्दा यसको उद्देश्यसमेत प्रस्ट खुलाइएको थिएन ।' पहिले टोलीले पाँच करोड रुपैयाँ मागेकामा अर्थ मन्त्रालयले ३ करोडका लागि स्वीकृति दिएको थियो । 'हामीले विरोध गरेपछि दुई करोडमा झारियो,' उनले भने ।
कांग्रेस नेता महतले भने त्रिपाठीको भनाइ नाटकीय भएको आरोप लगाए । 'बाहिर विरोधको नाटक गरे पनि निर्णय गर्दा समर्थन जनाए,' उनले भने, 'साँच्चिकै विरोध गरेको भए राष्ट्रढुकुटीको दुरुपयोग गर्ने छुट माओवादीले पाउने थिएन ।' भट्टराई सरकारलाई मधेसी पार्टीले 'लुट गर्न छुट दिएको' आरोप उनले लगाए ।
दुई करोड दिने निर्णयविरुद्ध राजधानीलगायत मुलुकका अधिकांश स्थानमा शनिबार प्रदर्शन भए । काठमाडौंको रत्नपार्कमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री बाबुराम भट्टराईको पुत्लासमेत जलायो । सरकारले निर्णय फिर्ता नगरे थप आन्दोलन गर्ने चेतावनी उसले दिएको छ । सरकारलाई नैतिक दबाब दिन पैसा उठाएर प्रधानमन्त्री भट्टराईलाई दिने संघले जनायो ।
यस्तै, युवा संघ र अनेरास्ववियुले २४ घन्टाभित्र निर्णय नउल्टाए आइतबारदेखि देशभरका शैक्षिक संस्था अगाडि आन्दोलन गर्ने जनाएका छन् । 'यस्तो अनैतिक निर्णय फिर्ता नभए चुप लागेर बसिँदैन,' युवा संघ अध्यक्ष महेश बस्नेतले भने । युवा संघले दोलखामा 'बाबुरामको बिर्ताले, दुई करोड फिर्ता ले' जस्ता नारासहित जुलुस निकालेको थियो । तरुण दल पनि सरकारको निर्णयविरुद्ध उत्रिएको छ ।
यसअघि समावेशी महिला टोली सगरमाथा जाँदा केही लाख रुपैयाँ दिन दलहरूले नै विरोध गरेपछि सरकारले रोयल्टीमात्र छुट गरेको थियो । आरोहणका लागि आवश्यक पर्ने उपकरणदेखि अन्य आर्थिक सहयोगका लागि टोलीले प्रायोजक खोजेको थियो । त्यतिबेला एमालेका पृथ्वी सुब्बा गुरुङ पर्यटनमन्त्री थिए । 'शेर्पा र अन्य टोलीले सगरमाथा सफाइका लागि जान खोज्दा ५ लाख दिन गाह्रो हुन्थ्यो,' गुरुङले भने, '२/२ करोड व्यक्तिगत सोखका लागि दिनु ढुकुटीको अनियमितता हो ।' यसअघि व्यक्तिगत मनोरन्जनका लागि कसैलाई यसरी रकम नबाँडिएको उनले उल्लेख गरे ।
सरकारले अघिल्लो वर्ष निजामती कर्मचारी र यसपालि प्रथम दलित सगरमाथा आरोहणका लागि बजेटमै घोषणा गरेको थियो । त्यसबाहेक सरकारले सगरमाथा सफाइमा जाने शेर्पाका लागि समेत कुनै सहयोग नगरेको पर्वतारोहणसम्बद्ध संघसंस्थाका प्रतिनिधिको भनाइ छ । नेपालीले सगरमाथा चढ्दा रोयल्टी छुट दिन सकिने निर्णयचाहिँ समावेशी टोलीको आरोहणका बेला पर्यटन मन्त्रालयले गरेको छ ।
प्रकाशको रोयल्टी मिनाहाको निवेदन पर्यटन उद्योग महाशाखामा पुगिसकेको छ । आइतबारदेखि यसबारे प्रक्रिया अगाडि बढाइने एक अधिकारीले जानकारी दिए । हालसम्म गएका सबै नेपाली टोलीले रोयल्टी नतिरेकाले दाहाललाई यो सुविधा दिन अप्ठ्यारो नहुने ती अधिकारीको भनाइ थियो ।
यसैबीच विद्युतीय सामाजिक सञ्जालहरूमा २ करोड काण्डको चर्को विरोध भएपछि दाहालपुत्र प्रकाशले आफ्नो फेसबुक एकाउन्ट 'डियाक्टिभेट' गरेका छन् ।

Posted by Butwalonline on 7:04 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दाहाल पुत्रलाई २ करोड दिएकोमा राजधानीमा प्रदर्शन"

Leave a reply