|

राजीनामा स्वीकृत गरेको झोकमा प्रअको दायाँ हत्केला छिनालियो


बाँके, फाल्गुन ३० - राजीनामा स्वीकृत गरेको झोकमा बसुदेवपुरका तिरथराम कलवारले हसिया प्रहार गरी महेन्द्र उच्च माविका प्रधानाध्यापक वीरेन्द्रकुमार गुप्ताको दायाँ हत्केला छिनाएका छन् ।
आइतबार दिउँसो विद्यालय कार्य कक्षभित्रै बसिरहेका बेला उनले प्रअमाथि एक्कासि आक्रमण गरेको प्रहरीले जनायो । कलवार महेन्द्र उच्च माविमा कार्यालय सहयोगी थिए ।
उनले दिएको राजीनामा व्यवस्थापन समितिको निर्णयअनुसार स्वीकृत गरेपछि आक्रोसित कलवारले गुप्तामाथि आक्रमण गरेको शिक्षकले बताए । कलवारले गुप्तालाई ज्यान मार्ने उद्देश्यले घाँटीमा प्रहार गर्न खोज्दा जोगिएर उनको दायाँ हातको हत्केला छिनालिएको प्रत्यक्षदर्शीले बताए । छिनालिएको हत्केलाको उपचार नेपालगन्जमा सम्भव नभएपछि थप उपचारका लागि भारतको लखनऊ रिफर गरिएको छ ।
आक्रमण गर्ने कलवार फरार भएकाले खोजी भइरहेको बाँके प्रहरी उपरीक्षक विक्रमसिंह थापाले बताए । उनको खोजी कार्य नेपाल र भारतका विभिन्न स्थानमा भइरहेको उनले बताए । आक्रमण लगत्तै कलवार भारततिर फरार भएको प्रहरीको दाबी छ ।
बाँकेका शिक्षा अधिकारी भक्तबहादुर ढकालले विद्यालयमा भएको उक्त घटना दुःखद रहेको भन्दै दोषीमाथि कारबाहीको माग गरे । उनले विज्ञप्ति जारी गरी उक्त घटनाले शैक्षिक क्षेत्रलाई स्तब्ध बनाएको बताए ।
स्रोत कान्तिपुर 

Posted by Butwalonline on 6:46 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राजीनामा स्वीकृत गरेको झोकमा प्रअको दायाँ हत्केला छिनालियो"

Leave a reply