काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर"कुबेलामा विदेश जाँदै नेताहरू"
काठमाडौ, फाल्गुन ३० - संविधान जारी गर्नुपर्ने मिति जेठ १४ नजिकिँदै गएको र शान्ति प्रक्रिया तथा संविधान निर्माणका विवादित विषयहरू बाँकी नै रहेका बेला प्रमुख तीन दलसहित मधेसी मोर्चासम्बद्ध १६ नेताहरू १० दिन लामो विदेश यात्रामा निस्कने भएका छन् ।
शान्ति प्रक्रिया र संविधान निर्माणका विवादित विषयमा सहमतिका लागि हुने शीर्ष छलफलमा सहभागिता जनाउँदै आएका सबै पार्टीका दोस्रो तथा तेस्रो तहका नेताहरू चैत ३ गते स्विट्जरल्यान्ड जाने भएका हुन् । विदेश जान लागेमा संविधानबारे सहमति खोज्ने संवैधानिक समितिका सदस्यदेखि शान्ति प्रक्रियामा सहमति खोज्ने माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समिति सदस्यसम्म छन् ।
नेपाल ट्रान्जिसन टु पिस, एसिया फाउन्डेसन र स्विट्जरल्यान्ड सरकारको सहकार्यमा 'शान्ति प्रक्रिया र संविधान निर्माण' सम्बन्धमा स्विट्जरल्यान्डमा हुन लागेको कार्यक्रममा सहभागिताका लागि उनीहरू त्यसतर्फ जान लागेका हुन् । त्यहाँ जना लागेका माओवादी नेता देवकोटा संवैधानिक समितिका सदस्य एवं विवाद समाधान उपसमितिमा सहयोगी हुन् । यसअघि स्विट्जरल्यान्डमा भएको यस्तै कार्यक्रमको फलोअपका रूपमा जान लागिएको देवकोटाले जानकारी दिए ।
कांग्रेस नेता केसीका अनुसार अधिकारकर्मी दमननाथ ढुंगाना र पद्मरत्न तुलाधरले सहजीकरण गर्ने कार्यक्रमअन्तर्गत चैत ३ गते गएर १६ गते र्फकने योजना छ । 'कुनै सहमति, सम्झौता गर्नेभन्दा पनि शान्ति प्रक्रिया र संविधान निर्माणको सम्बन्धमा तुलनात्मक अध्ययन गर्ने कार्यक्रम हो,' नेता केसीले भने, 'हाम्रा शीर्ष नेता र विशेष समिति सदस्य यही रहने भएकाले छलफलमा समस्या हुँदैन ।'
कांग्रेस महामन्त्री सिंहले पहिले पनि स्विट्जरल्यान्डमा भएको यस्तै कार्यक्रममा सहभागी भएको र अहिले त्यसैको फलोअप बैठक रहेको जनाए । कांग्रेसका अर्का नेता निधिले सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र दलका नेता रामचन्द्र पौडेलका साथै विशेष समिति सदस्यहरू रामशरण महत र मिनेन्द्र रिजाल मुलुकमै रहने भएको यहाँ हुने छलफलमा असर नपर्ने बताए ।
उता एमालेका पोखरेल र रावल विशेष समिति सदस्यसमेत हुन् भने रावल संवैधानिक समितिमा पनि छन् । नेता पोखरेलले एक महिनाअघि नै कार्यक्रम तय भएको जनाउँदै भने, 'मेरो सहभागिताचाहिँ यहाँको राजनीतिक परिस्थितिमा निर्भर गर्छ ।' नेता ज्ञवालीले पनि खासगरी संविधानका विवादित विषय शासकीय स्वरूप, राज्यको पुनर्संरचना र निर्वाचन प्रणालीबारे छलफल हुन लागेको जानकारी दिए । उनले पनि आफ्नो सहभागिता मुलुकको राजनीतिक अवस्थामा निर्भर रहने बताए । मधेशी मोर्चाका यादव र कर्ण संवैधानिक समिति सदस्य हुन् भने लोकतान्त्रिकका महासचिव देव पनि विशेष समिति सदस्य हुन् ।
स्रोत :कान्तिपुर