लुम्बिनीको विकासमा कोरियाद्वारा १६ करोड ८० लाख सहयोग प्रदान
काठमाडौं ६ माघ । दक्षिण कोरियाले लुम्बिनी विश्व शान्ति सहर संरक्षण तथा विकासका लागि गुरुयोजना निर्माण गर्न १६ करोड ८० लाख सहयोग प्रदान गरेको छ ।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा सहयोगसम्बन्धी सम्झौतामा अर्थसचिव कृष्णहरि बाँस्कोटा र कोरियाली राजदूत इल-डु किमले हस्ताक्षर गर्नुभयो । कोरियाली राजदूत किमले सहयोगले दुई देशबीच जनस्तरमा रहेको सम्बन्ध अझ प्रगाढ हुने र बौद्ध अध्ययनका लागि सो स्थल उपयोगी हुने धारणा व्यक्त गर्नुभयो ।
लुम्बिनीको विश्वव्यापी महत्वप्रति सम्मान दर्साउने, साँस्कृतिक तथा ऐतिहासिक वातावरण संरक्षण र साँस्कृतिक सम्पदाको संरक्षण गर्ने, विश्व शान्तिनगरका रुपमा विकास गर्ने, बौद्ध शिक्षण तथा अध्ययनको थलो बनाउनेलगायतका क्षेत्रमा प्राप्त सहयोग खर्च गर्ने परियोजनाको उद्देश्य रहेको छ । आगामी करिब डेढ वर्षभित्र लुम्बिनीको पाँच वर्ग माइल क्षेत्रफलभित्र सो परियोजना सञ्चालन गरिनेछ ।
स्रोत :ऑनलाइन खबर