|

नाइजेरियामा भएको श्रृखलाबद्ध आक्रमणमा दुई नेपालीको मृत्यु

काठमाडौं, माघ १० - पश्चिम अफ्रिकी मुलुक नाइजेरियामा शुक्रबार भएको श्रृखलाबद्ध आक्रमणमा दुई नेपालीको मृत्यु भएको छ। मृत्यु हुने नेपाली हरिप्रसाद भुसाल र राज सिंह भएको नाइजेरियाको अबुजास्थित भारतीय काउन्सिलरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
दुवैको नेपाली ठेगाना खुलेको छैन। मुस्लिम अतिवादी समूह बोको हरामले शुक्रबार दोस्रो ठूलो सहर कानोमा श्रृंखलाबद्ध आक्रमण गर्दा कम्तीमा १ सय ८० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। आक्रमणमा सयौं घाइते भएका छन्। आक्रमणपछि कानोमा राति कर्फ्यु लगाइन थालिएको छ।

भारतीय काउन्सिलरले भुसाल र सिंह नाइजेरियाको उत्तरी क्षेत्रमा पर्ने कानोस्थित एमएस रेल्चेम नामको कम्पनीमा काम गर्दै आएको उल्लेख गरेका छन्। सिंह र भुसाल चढेको कार आक्रमण भइरहेको क्षेत्रमा प्रवेश गरेपछि उनीहरूको मृत्यु भएको बताइएको छ।

उनीहरूको मृत्यु विष्फोट वा गोली प्रहार केबाट भएको हो भनेर खुलाइएको छैन। गैरआवासीय नेपालीको वेबसाइटमा रोजगारीका सिलसिलमा करिब सय नेपाली नाइजेरियामा रहेको उल्लेख छ।

नाइजेरिया हेर्दै आएको इजिप्टस्थित नेपाली दूतावासले घटनामा नेपालीको मृत्यु भएकोबारे कुनै जानकारी नभएको जनाएको छ।

परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता तीर्थ वाग्लेले घटनाबारे बु‰न इजिप्ट र दक्षिण अफ्रिकास्थित नेपाली दूतावासमा पत्राचार गरेको बताए।

बोको हरामका लडाकुले शुक्रबार स्थानीय र सुरक्षाकर्मीमाथि लक्षित गर्दै बम र गोली प्रहार गरेका थिए। नाइजेरियालाई इस्लामिक राष्ट्र बनाउन र इस्लामिक कानुन ...सरिया' लागू गराउन बोको हरामले हिंसात्मक गतिविधि गर्दै आएको छ। राष्ट्रसंघका महासचिव बान कि मुनले कानोमा भएको आक्रमणको भर्त्सना गरेका छन्।
१५ करोड जनसंख्या रहेको नाइजेरिया विश्वका प्रमुख तेल निर्यातक देशमध्ये एक हो। उत्तरी क्षेत्रमा
मुसलमानको बाहुल्य छ भने दक्षिणमा इसाइ छन्।
                                                                                                                                             स्रोत :नागरिक 

Posted by Butwalonline on 7:29 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नाइजेरियामा भएको श्रृखलाबद्ध आक्रमणमा दुई नेपालीको मृत्यु"

Leave a reply