|

नेपालमा इन्टरनेट प्रयोगकर्ताको वृद्धि,इन्टरनेटको पहुँचमा ३९ लाख उपभोक्ता

काठमाडौ, माघ १६ - राजधानीको कालोपुलका हरि बस्नेतलाई डायल अप मोडेमबाट निश्चित डाटा डाउनलोड गर्ने गरी इन्टरनेट चलाएको अस्तिजस्तै लाग्छ । भनेका बेला 'कनेक्ट नहुने' जोडिए पनि निकै सुस्त हुने त्यो प्रविधिका ठाउँमा उनी अहिले वाइफाई चलाउँछन् । मासिक १ हजार रुपैयाँ हाराहारीमा उनी इन्टरनेटको असीमित सेवा प्रयोग गर्छन् । विदेशमा रहेका छोराछोरीसँग भिडियो च्याट गर्छन् । उनीहरू अनलाइनमा नभेटिएका बेला इन्टरनेटबाटै मोबाइलमा फोन गर्छन् ।

मर्कन्टाइल कम्युनिकेसन्सले डेढ दशकअघि मुलुकमा इन्टरनेट सेवा सुरु गर्दा यो प्रविधि सीमित व्यक्तिको पहुँचमा थियो । कम्प्युटरमा डायल अप मोडेम, टेलिकमको ल्यान्डलाइन फोन र इन्टरनेट प्रदायकसँगको समन्वयपछि मात्र इन्टरनेट चलाउन सकिन्थ्यो । निश्चित डाटा प्रयोग गरेबापत इन्टरनेट प्रदायकलाई तिनुपर्ने शुल्क छँदै छ, टेलिफोन प्रयोग गरेबापत महसुल समेत छुट्टै तिर्नुपथ्र्यो ।

'समय अनुसार इन्टरनेटको प्रविधिले काँचुली फेर्दै गएको छ,' इन्टरनेट सर्भिस प्रदायक -आइएसपी) एसोसिएसनका अध्यक्ष विनय बोहोरा भन्छन्, 'सर्वसाधारण उपभोक्ताको पहुँचमा इन्टरनेट पुगेको छ । अब उनीहरू सेवाको गुणस्तर खोज्न थालेका छन् ।' प्रविधिले हरेक काम सहज हुनुमा इन्टरनेटको भूमिका महत्त्वपूर्ण छ । पहिले डाटामा मात्र सीमित इन्टरनेट उपभोक्ता टिभी, रेडियो, टेलिफोन लगायत सुविधा एउटै माध्यममा खोज्न थालेको बोहोराको भनाइ छ । 'डाटा, भिडियो र भ्वाइस एउटैमा उपलब्ध हुने भएकाले उपभोक्ताले छिटो गतिको इन्टरनेट खोज्न थालेका छन्,' उनले भने, 'यो सुविधा अप्टिकल फाइबरले उपलब्ध गराएको छ ।' इन्टरनेट सूचनाको अथाह सागर भएकाले पानी, बिजुलीजस्तै सर्वसाधारणका लागि अनिवार्य आवश्यकता बन्दै गएको उनको भनाइ छ ।

मुलुकमा इन्टरनेट प्रविधि वाइफाई र अप्टिकल फाइबरसम्म आइपुगेको छ । धेरै कम्प्युटर चलाउनुपर्ने कर्पोरेट कार्यालय तीव्र गतिको अप्टिकल फाइबरमा आबद्ध छन् । मोबिलिटी भएका -बोकेर हिँड्न मिल्ने) डिभाइसका सौखिन वाइफाई चलाउँछन् । मोबाइल, ट्याब्लेट, ल्यापटप लगायत डिभाइसमा वाइफाई सुविधा हुने भएकाले इन्टरनेट हुनेखानेहरूबाट गरिबसम्म पहुँच पुगेको बोहोरा बताउँछन् । विदेशमा भित्रिइसकेको चौथो पुस्ताको वाइम्याक्स प्रविधिमा भने मुलुक अझै प्रवेश गरिसकेको छैन ।

आइएसपीहरूको भीडमा ब्रोडलिंकले आक्रामक रूपमा वाइफाई सेवा ल्याएपछि मुलुकका मुख्य सहरहरूका सर्वसाधारणबीच इन्टरनेटको सहज पहुँच पुगेको छ । उसको योजनापछि अरू आइएसपी समेत आफूलाई प्रतिस्पर्धामा उतार्न प्रविधिलाई अद्यावधिक गर्दै बजारमा आएका छन् ।

दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरसेवा दिन ४९ वटा कम्पनीले अनुमति लिएका छन् । ग्रामीण क्षेत्रमा इन्टरनेट प्रदान गर्न ६ वटा कम्पनीले अनुमति लिएको प्राधिकरणको पछिल्लो तथ्यांक छ । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या समेत केही वर्षयता निकै बढेको छ । इन्टरनेट प्रयोगकर्ता बढ्नुमा मोबाइल फोनले सघाएको छ । प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार ३८ लाख ७३ हजार ९ सय ९३ जनाले इन्टरनेट सुविधा लिएका छन् ।

तीमध्ये मोबाइलबाट जिपिआरएस -इन्टरनेट) चलाउनेको संख्या ३५ लाख ५५ हजार ८ सय ६२ पुगेको छ । यो संख्या अन्य माध्यमबाट इन्टरनेट चलाउनेको भन्दा अत्यधिक हो । डायलअप, वायरलेस मोडेम, अप्टिकल फाइबर, केबल, एडिएसएल, सिडिएमए सहितका माध्यमबाट इन्टरनेट चलाउनेको संख्या करिब सवा ३ लाख छ ।

मोबाइल सेवा प्रदायक एनसेल र युटिएलले डाटा कार्डमार्फत इन्टरनेट सुविधा उपलब्ध गराउँदै आएका छन् । नेपाल टेलिकमले डाटा कार्डका अतिरिक्त एडिएसएल प्रविधिको इन्टरनेट समेत उपलब्ध गराउँछ । तुलनात्मक रूपमा डाटा कार्डबाट इन्टरनेट चलाउँदा केही महँगो परे पनि जहाँसुकै लैजान सकिने भएकाले यसका प्रयोगकर्ता धेरै छन् ।

भायोनेटले फाइबर कनेक्ट र वायरलेस इन्टरनेट उपलब्ध गराउँदै आएको छ । कम्पनीले उच्च गतिको -१ एमबिपिएससम्म) फाइबर कनेक्ट इन्टरनेटको सानोसानो प्याकेज बनाएर सर्वसाधारणलाई उपलब्ध गराउने बताएको छ । प्रबन्ध निर्देशक बोहोराका अनुसार कम्पनीले लाइट, बेसिक र प्रो गरी तीन प्रकारका इन्टरनेट सेवा उपलब्ध गराउँछ । लाइटमा ३० जिबीसम्म डाटाको प्रतिमहिना ३ हजार ५ सयदेखि ३ सय ६० जिबी लिँदा १ वर्षको ३७ हजार ८ सय रुपैयाँ पर्छ । बेसिकमा १ महिनाको ७० जिबीसम्म ५ हजार ५ सयदेखि १ वर्षको ८ सय ४० जिबी लिँदा ५९ हजार ४ सय रुपैयाँ पर्छ । कम्पनीले प्रोमा असीमित डाटाको १ महिनाको प्याकेज ८ हजार ८ सय ५० देखि १ वर्षको ९५ हजार ६ सय रुपैयाँमा उपलब्ध गराउँछ ।

'प्रविधि महँगो पर्ने भएकाले घरेलुभन्दा कर्पोरेट उपभोक्तालाई हाम्रो सेवा लक्षित छ,' बोहोराले भने, 'हामीले प्रविधिको मात्र शुल्क लिएका छौं । इन्टरनेटको शुल्क त्यसमा जोडिएको छैन ।' कम्पनीले घरेलु प्रयोगकर्ताका लागि २ सय ५६ केबिपिएससम्मको वायरलेस इन्टरनेट समेत उपलब्ध गराउँदै आएको छ ।

मुलुकको पुरानो इन्टरनेट प्रदायक मर्कन्टाइल कम्म्युनिकेसन्सले फाइबर अप्टिकल, भिस्याट र वायरलेस इन्टरनेट सेवा दिइरहेको कम्पनीका कर्पोरेट मार्केटिङ कोअर्डिनेटर प्रतीक शर्माले बताए ।

सुविसु केवल नेटले केबल इन्टरनेट पि्रपेड सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले राति मात्र चलाउने उपभोक्ताका लागि १ सय २८ केबिपिएस गतिको ८ सय, २ सय ५६ केबिपिएसको १ हजार ९ सय रुपैयाँ शुल्क तोकेको छ । कम्पनीले ती तीन थरीका गतिमा असीमित सुविधा लिने भए १ हजार, १ हजार ३ सय र २ हजार ९ सय रुपैयाँका अतिरिक्त १ एमबिपिएसको गतिमा ४ हजार ९ सय रुपैयाँमा सेवा उपलब्ध गराउने मार्केटिङ अफिसर युवराज कार्कीले जनाए । कम्पनीले केबल र फाइबर अप्टिक्स प्रविधिका इन्टरनेट उपलब्ध गराउँदै आएको छ ।

आक्रामक बजार योजनासाथ आएको क्लासिक टेकले सिटी वाइफाई, सिटी ब्रोड ब्यान्ड, सिटी एयरम्याक्स र सिटी अप्टम्याक्स इन्टरनेट उपलब्ध गराउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रमेश खरेलले बताए । कम्पनीले १ सय ९२ केबिपिएस गतिको वाइफाई, ५ सय, ३ सय ८४ गतिको १ हजार, २ सय ५४ केबिपिएसको ब्रोडब्यान्ड १ हजार, ३ सय ८४ को १ हजार ४ सय ५० र ५ सय १२ गतिको १ हजार ९ सय रुपैयाँमा उपलब्ध गराउने जनाएको छ । कम्पनीले अप्टिकल फाइबरबाट ५ सय १२ केबिपिएस देखि २ जिबीसम्मको गतिको इन्टरनेट ५ हजार ४ सय ९९ देखि १८ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध गराउने जनाएको छ ।

वायरलेस डिएलएस इन्टरनेट उपलब्ध गराउँदै आएको वेबसर्फरले १ सय ९३ केबिपिएस गतिको ९ सय, २ सय ५६ को १ हजार १ सय, ३ सय २० को १ हजार ३ सय र ३ सय ८४ को १ हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने जनाएको छ । कम्पनीका मार्केटिङ मेनेजर सुदीपकुमार ओलीका अनुसार कम्पनीले राति मात्र चलाउने उपभोक्ताका लागि ५ सय १२ केबिपिएसको गतिमा ५ सय रुपैयाँ प्रतिमहिनाको दरमा उपलब्ध गराउने छ । कम्पनीले भिस्याट र फाइबर अप्टिक्स इन्टरनेट समेत उपलब्ध गराउने जानकारी दिएको छ ।

अर्को इन्टरनेट प्रदायक कम्पनी चेरी वर्डले वाइरलेस र वाइफाइ इन्टरनेट उपलब्ध गराउँदै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश रजकका अनुसार कम्पनीले वाइफाई १ सय २८ केबिपिएसको गतिमा ६ महिनाको २ हजार ७ सय र १ वर्षको ५ हजार २ सय रुपैयाँमा उपलब्ध गराउँछ । २ सय ५६ केबिपिएसको गतिमा भने ६ महिनाको ५ हजार र १ वर्षको ९ हजार ५ सय रुपैयाँ शुल्क तोकेको छ । वायरलेस इन्टरनेटको १ सय २८ केबिएस गतिमा ६ महिनाको ३ हजार ८ सय १ वर्षको ७ हजार ४ सय र २ सय ५६ को गतिमा ६ महिनाको ५ हजार ८ सय र १ वर्षको ११ हजार ५ सय रुपैयाँ शुल्क तोकेको छ ।

काठमाडौं उपत्यका सहित मुलुकका प्रमुख सहरहरूमा वाइफाई इन्टरनेट उपलब्ध गराउँदै आएको ब्रोडलिंकले मासिक ३ जिबीसम्म डाटा ४ सय ९९ रुपैयाँमै उपलब्ध गराउँछ । अघिल्लो वर्ष क्यानमा त्यति डाटा उसले ३ सय रुपैयाँमै उपलब्ध गराएर उपभोक्तालाई इन्टरनेटतिर आकषिर्त गरेको थियो । कम्पनीले असीमित इन्टरनेट मासिक २ सय ५६ केबिपिएस गतिको इन्टरनेट ८ सय ९९ रुपैयाँ, ५ सय १२ को २ हजार ७ सय, ९ सय ६० को ६ हजार ७ सय ४२ रुपैयाँमा उपलब्ध गराउँछ ।

अर्को आइएसपी वल्र्डलिंकले केवल र वायरलेस इन्टरनेट उपलब्ध गराउँदै आएको छ । यसले १ सय २८ केपिपिएसको २ महिनाको १ हजार ७ सय रुपैयाँ र ३ सय ८४ केबिपिएस गतिको इन्टरनेट मासिक १ हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने जनाएको छ ।

यसैगरी वाइफाई १ सय २८ केबिपिएस गतिमा २ महिनाको १ हजार ८ सय र ३ सय ८४ केबिपिएसको प्रतिमहिना १ हजार ७ सय रुपैयाँमा उपलब्ध गराउने जनाएको छ ।
                                                                                                                                          साभार :कान्तिपुर


Posted by Butwalonline on 2:21 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपालमा इन्टरनेट प्रयोगकर्ताको वृद्धि,इन्टरनेटको पहुँचमा ३९ लाख उपभोक्ता"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु