ट्याक्टर दुर्घटना हुँदा दर्जनभन्दा बढि घाइते
उदयपुर, मंसिर १४ - जिल्लाको पश्चिम–उत्तरमा पर्ने दुर्गम नामेटार गाविसको माझर्खकबाट जिल्लाकै बाराको सिर्वानी जाँदै गरेको एक ट्याक्टर बुधबार बाराकै नागी भन्ने स्थानमा दुर्घटना हुँदा दर्जनभन्दा बढि घाइते भएका छन् ।
सिर्वानीमा बिग्रिएको स्काइभेटरको वकेट लिन जाँदै गरेको बा३त ९६२६ नम्वरको ट्यक्टर २ र ९ नम्वर वडाको सिमानामा पर्ने नागीमा सडकबाट पल्टिंदा ट्याक्टरमालिक नामेटार– १ का ३२ लालबहादुर राई र रौता–९ का ३४ बर्षीय कृष्णकुमार कार्की, बारा– ९ का ढाकबहादुर मगर, भिमबहादुर मगर, भिमबहादुर मगर, तिलकबहादुर मगर,जगतबहादुर मगर र रितबहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले वताए । त्यसैगरी दुर्घटनापरी चालक १७ बर्षीय महानन्द चौधरी र बासबोटेका ३० बर्षीय बिक्रम राई घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको चौधरीले वताए ।
प्राप्त विवरण अनुसार मालिक राईको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेको स्थानीयले उद्दार गरि छत्रबहादुर राईको घरमा राखिएको स्थानीयले वताएका छन् । घटनास्थल २ हजार ३ मिटर भन्दा बढिको उचाईमा पर्छ । घाइतेलाई उपचारको लागि कटारी ल्याउन एम्वुलेन्स सहितको प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरी निरीक्षक चौधरीले वताए ।
जिल्लाको कटारीबाट माझखर्क खाद्यन्य लगायतका सामाग्री लिएर ट्याक्टर माझखर्क जाने गरेका छन् । भर्खरै खोलिएको ग्रामिण ट्र्याकमा सवारी साधन भनेको ट्याक्टरमात्रै रहेकोले सर्वसाधरण ट्याक्टरमै यात्रा गर्ने गरेको स्थानीयले वताए । ट्र्याक्टर लालबहादुर, कृष्ण र कमलको संयुक्त लगानीमा खरिद गरिएको हो ।
घटनास्थल दुर्गम भएकोले पूर्ण विवरण आउन समय लाग्ने इलाक प्रहरी कार्यालय कटारीले जनाएको छ । दुर्गममा यात्रु बोक्ने सवारी साधन ट्याक्टर नै भएकोले घटनामा पर्ने सर्वसाधरणको संख्या यकिन गर्न नसकिने प्रहरी निरीक्षक चौधरीले वताए ।
स्रोत : कान्तिपुर