|

टिपिडि प्रशिक्षक प्रशिक्षण कार्यक्रमहरू सञ्चालन


गोपाल प्रसाद वश्याल,पाल्पा, मंसीर १४-नेपाल सरकारले लागू गरिरहेको विद्यालय सुधार कार्यक्रम अन्तर्गत शिक्षकको पेशागत विकास तालिमका लागि शिक्षकका पेशागत मागहरू संकलन साथै प्रशिक्षक विकासका लागि १२ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमहरू र विद्यालयका प्रधानाध्यापकहरूलाई अभिमुखीकरण गर्ने कार्यहरू धमाधम भैरहेका छन् ।

यसै क्रममा शैक्षिक तालिम केन्द्र, पाल्पाले गुल्मीका रोष्टर प्रशिक्षकहरूका लागि १२ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम मंसीर ९ गते सम्पन्न गरेको छ । यस कार्यक्रममा २५ जनाको सहभागिता थियो भने आजदेखि पाल्पाका सबै १८ वटै स्रोत केन्द्रका रोष्टर प्रशिक्षकहरू, जिशिका पाल्पाका एक विद्यालय निरिक्षक, एक स्रोत व्यक्ति तथा गुल्मी जिल्लाका दुई रोष्टर प्रशिक्षकहरू गरी २२ जनाका लागि १२ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरू गरेको छ ।

कार्यक्रमको शुरूवात गर्दै पाल्पाका जिल्ला शिक्षा अधिकारी विष्णु बहादुर द्वारेले शिक्षकहरू पेशा प्रति निष्ठावान र विषयवस्तुमा पोख्त हुनुपर्ने आवश्यकता औंल्याउंदै शिक्षकहरूले आफूलाई परेका समस्याहरू स्थानीय शिक्षकहरू कै रोष्टर प्रशिक्षक समूहहरूबाट समाधान खोज्ने भएकाले टिपिडि तालिम महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रम तालिम केन्द्यद्रका कार्यक्रम संयोजक रुद्र प्रसाद रेग्मीको अध्यक्षता, तालिम संयोजक डम्बरध्वज वस्यालको स्वागत तथा प्रशिक्षक गोपाल प्रसाद वश्यालको सञ्चालनमा चलेको थियो ।

शिक्षकको पेशागत विकास तालिम सबै शिक्षकहरूले सन् २०१५ सम्म एक पटकमा १० दिनका दरले तीन पटक लिनुपर्ने छ । सोही अनुसार वार्षिक ६०५ शिक्षकहरू सहभागी हुने नीतिगत व्यवस्था गरेको भए पनि यस वर्ष बजेट अभावका कारण आधारभूत तर्फ ४२ र माध्यमिक तर्फ ४८ प्रतिशत मात्र शिक्षकहरूले टिपिडि तालिममा सहभागी हुनेछन् । टिपिडि तालिम शिक्षकका आवश्यकताका आधारमा स्थानीय प्रशिक्षकहरूबाटै प्याकेज तयारी गरी सञ्चालन गरिन्छ । आधारभूत तह (कक्षा १ देखि ८ सम्म) का लागि स्रोत केन्द्रहरूमा र माध्यमिक तहका लागि शैक्षिक तालिम केन्द्रहरूले तालिम सञ्चालन गर्दछन् ।

चालू आर्थिक वर्षमा पाल्पामा आधारभूत तर्फ १३३४ र माध्यमिक तर्फ १९७ जना शिक्षकहरूले तालिम लिने शैक्षिक तालिम केन्द्र, पाल्पाका कार्यक्रम संयोजक रुद्र प्रसाद रेग्मीले बताउनुभयो । वहााले पाल्पाका सबै स्रोत केन्द्रहरू मार्फत आवश्यकताहरू मंसीर १५ भित्र जममा हुने र २२ गते भित्र तालिम केन्द्रमा आइपुग्ने, प्रधानाध्यापकहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमहरू सबै स्रोत केन्द्रहरूबाट भैरहेका र तालिम केन्द्रले पनि गरिसकेको, प्रशिक्षक प्रशिक्षण पनि भैरहेकाले माघ महिनादेखि टिपिडि तालिमहरू सञ्चालन हुने बताउनुभएको छ ।

Posted by Butwalonline on 8:10 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "टिपिडि प्रशिक्षक प्रशिक्षण कार्यक्रमहरू सञ्चालन"

Leave a reply