नेल्टाद्वारा विद्यालयहरूलाई पुस्तक सहयोग
मुक्तिप्रसाद न्यौपाने,मंसिर १४, पाल्पा-नेल्टा केन्द्रिय समितिको व्यवस्थापन र अमेरीकी दुतावासको सहयोगमा नेल्टाका ३२ वटै शाखामार्फत ति शाखा रहेका जिल्लाहरूका जम्मा ८४ सामुदायिक विद्यालयहरूलाई पुस्तक दान गर्ने कार्यक्रम अन्तर्गत नेल्टा पाल्पाको आयोजनामा पाल्पा जिल्लाका आठ वटा सामुदाायिक विद्यालयहरूलाई शैक्षिक तालिम केन्द्र तानसेनमा आयोजित एक कार्यक्रम वीच पुस्तकहरू प्रदान गरिएको छ ।
पुस्तक दान कार्यक्रममा जिल्ला शिक्षा कार्यालय पाल्पाका उपसचिव मनोज गैरेले पुस्तक हस्तान्तरण गर्दै प्राप्त पुस्तकहरूको अध्ययन र कक्षाकोठामा प्रयोग गर्नुपर्ने आवश्यकता भएको बताए । त्यसैगरी शैक्षिक तालिम केन्द्रका कार्यक्रम संयोजक रुद्रप्रसाद रेग्मी र नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष राजेश कुमार अर्यालले नेल्टाका कार्यहरूको प्रशंसा गर्दै प्रदान गरिएका पुस्तकले अंग्रेजी भाषा शिक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेल्टाले जनता नमुना उमावि तानसेन, वेद उमावि बराङदी, गणपति उमावि विरकोट, दिव्य ज्योति उमावि कसेनी, दोभान उमावि दोभान, लक्ष्मी उमावि वन्दीपोखरा, भैरवजनता उमावि भैरवस्थान र सरस्वती उमावि खस्यौलीलाई र नेल्टा पाल्पा शाखालाई गरी करीव चार लाख मूल्य वरावरका क्याम्व्रिज प्रकाशनका पुस्तकहरू प्रदान गरिएको हो ।
पुस्तक प्रदान गरिएपछि ति विद्यालयहरूका प्राथमिक, माध्यमिक तथा उच्च माध्यमिक तहका अंग्रेजी शिक्षकहरूका लागि चार घण्टे प्रशिक्षण प्रदान गरिएको थियो । प्रशिक्षणमा ति पुस्तकहरूको उपयोग तथा विद्यार्थीहरूमा समालोचनात्मक सिकाइ सीप विकास बारे नेल्टा केन्द्रिय अध्यक्ष हेमन्त दाहाल, केन्द्रिय सदस्य मोतिकला सुव्वा देवान र अमेरिकी दुतावासका प्रशिक्षक आश्ले हेगरले प्रशिक्षण दिएका थिए । कार्यक्रम नेल्टा पाल्पाका अध्यक्ष गोपाल प्रसाद वश्यालको अध्यक्षता र सचीव रामनाथ न्यौपानेको सञ्चालनमा चलेको थियो ।