|

बर्ड फ्लु संक्रमणका लक्षणहरू ,अनि रोकथाम

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले बर्ड फ्लु फैलिएको क्षेत्रबाट उत्पादित पन्छीजन्य खाद्य पदार्थ उपयोग नगर्न भनेको छ । संक्रमित हाँस, कुखुराको सम्पर्कमा आएका व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन पनि आग्रह गरेको छ ।
'यो रोगलाई पन्छीमा देखिएको अवस्थामै नियन्त्रण गर्नु नै मानिसमा संक्रमण सर्ने जोखिम कम गर्ने मुख्य उपाय हो,' महाशाखाका निर्देशक डा. जीडी ठाकुरले भने, 'संक्रमित क्षेत्रका पन्छीजन्य उत्पादन उपयोग गर्नु
हुँदैन ।' त्यस्ता उत्पादनमा मासु, अन्डा, मल र प्वाँखहरू प्रमुख हुन् ।
बर्ड्फ्लुका जीवाणु पाइएको ठाउँदेखि ३ किलोमिटर वरपरको क्षेत्र संक्रमणको उच्च जोखिममा रहने ठाकुरले जनाए । उक्त क्षेत्र आसपासका ५० घरपरिवारलाई रुघाखोकीजस्ता लक्षण देखिए सघन निगरानीमा राखिने उनले जनाए । त्यस्ता व्यक्तिमा रुघाखोकीको लक्षण देखिए तत्काल स्वास्थ्य केन्द्रमा सम्पर्क गरी जानकारी उपलब्ध गराउन पनि उनले आग्रह गरे । संक्रमण नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग समन्वय भइरहेको पनि डा. ठाकुरले बताए ।
मानिसमा बर्डफ्लुको संक्रमण भए सुरुमा घाँटीमा खस-खस हुन्छ । फ्लु श्वास नलीमा फैलिएपछि संक्रमितलाई तीव्र खोकी र हाछ्यु आउँछ । त्यसपछि रुघाखोकीको जस्तो लक्षण देखिनुका साथै ज्वरो आउने, जाडो लाग्ने, वाकवाकी लाग्ने र काम्ने हुन्छ ।
श्वास फेर्न असजिलो हुनका साथै टाउको दुख्ने र घाँटी पोल्नेजस्ता लक्षणहरू पनि देखिन सक्छन् । विशेषज्ञहरूका अनुसार संक्रमण भएको एक साताभित्रै यस्ता लक्षणहरू देखिन्छन् । संक्रमण नरोकिए श्वासप्रश्वासमा समस्या भएर बिरामीको मृत्यु हुन सक्छ । 
राम्ररी पे्रसर कुकरमा मासु पकाऔं 
विज्ञहरूका अनुसार प्रेसर कुकरमा राम्ररी पकाइएको मासु वा अन्डा खाँदा बर्डफ्लु सर्दैन । 'मासु प्रेसर कुकरमा पकाउनुपर्छ,' सूक्ष्मजीव वैज्ञानिक प्रा.डा. शिवकुमार राईले भने, 'प्रेसर कुकरभित्रको तापक्रम सयदेखि १ सय २० डिग्री सेन्टिग्रेडसम्म हुन्छ । यो तापक्रममा कुनै पनि जीवाणु बाँच्ने सम्भावना हुँदैन ।' तर संक्रमित पन्छीहरूको जुनसुकै सम्पर्कबाट रोग सर्न सक्ने भएकाले त्यसबाट टाढै रहनु नै जोगिने एकमात्र उपाय हो ।
अमेरिकी फुड एन्ड ड्रग एडमनिस्ट्रेसन -एफडीए) का अनुसार काँचो अन्डा र कुखुराजन्य उत्पादन छोएपछि करिब २० सेकेन्डसम्म साबुन र तातोपानीले हात धुनु पर्छ । अन्डाको सेतो र पहेँलो भाग ठोस नबनुन्जेल उमालेपछि मात्र खानयोग्य हुन्छ । पन्छीजन्य उत्पादनको सम्पर्कमा आएका भाँडाकुँडा, चक्कुलगायत सामग्री पनि तातोपानी र साबुनले सफा गर्नुपर्छ ।
सन् २००३ यता विश्वका करिब दर्जन मुलुकका पाँच सय व्यक्तिमा बर्डफ्लुको संक्रमण रेकर्ड गरिएको छ । तीमध्ये झन्डै ६० प्रतिशतको मृत्यु भएको छ ।
                                                                                                                                          साभार :कान्तिपुर 

Posted by Butwalonline on 7:59 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

2 comments for "बर्ड फ्लु संक्रमणका लक्षणहरू ,अनि रोकथाम"

  1. is there any medicine,, if i am suffered frm bird flue?

  2. @deeoanjali,please check this link for more details to prevent bird flu..http://www.medicinenet.com

Leave a reply