|

१६ वटा काँचा सालका रुख काटिए

बुटवल, २६ असोज । रुपन्देही र पश्चिम पाल्पाको सीमानामा पर्ने जोगदमार वनमा १६ वटा काँचा सालका रुख काटिएका छन् । बल्ढेड्डगढीस्थित पाखापानी सामुदायिक वन क्षेत्रमा पर्ने उक्त स्थानमा सालका ठाडा काँचा रुख काटिएका हुन् ।

स्थानीयबासीले दिएको जानकारी अनुसार हाल पाल्पा जुठापौवा निवासी शान्तबहादुर जीसीले घर बनाउने स्थानको सफाइ गर्न ती सालका रुख काटिएका हुन् । त्यस स्थानमा जीसीको करिव १ रोपनी जग्गा रहेको र वन क्षेत्रको थप ४ रोपनी जग्गा अतिक्रमण गरी घर बनाउन लागेको श्रोतले जनाएको छ ।

लालपुर्जा प्राप्त भइनसकेको उक्त जग्गामा घर बनाउन भन्दै ती सालका रुखहरु काटिएका हुन् ।
औपचारिक रुपमा वन समुदाय र जिल्ला वन कार्यालयबाट समेत कुनै अनुमति नलिइ ती रुखहरु काटिएका हुन् । पाखापानी सामुदायिक वनका सहसचिव देवेन्द्र पुनले आफूहरुले रुख काट्न अनुमति नदिएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘हामीले रुख काट्ने अनुमति दिएका होइनौ, शान्तबहादुरले आफै जोखिम उठाएर काटेका हुन् ।’

जिल्ला वन कार्यालय पाल्पाका प्रमुख रामबाबु पौडेलले आफूलाई कुनै जानकारी प्राप्त नभएको र छिट्टै बुझ्ने बताउनुभयो ।
काष्ठ व्यवसायीका अनुसार एउटा सालको रुख न्यूनतम १ सय ४० क्यूफिटको हुन्छ । यस अनुरुप जंगलकै टण्डर मूल्यको हिसावले पनि करिव १५ लाख मूल्य बराबरको काँचो साल काटिएको छ ।

Posted by Butwalonline on 11:22 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "१६ वटा काँचा सालका रुख काटिए"

Leave a reply