|

सैनिक विमान दुर्घटनाः विमानमा रहेका सबैको मृत्यु


बागलुङ, कार्तिक २ - नेपालगञ्जबाट बिमारी लिई काठमाडौंका लागि उडेको नेपाली सेनाको आर.ए.एन ४९ आईलेण्डर बिमान दुर्घटनामा विमानमा सवार सबै ६ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चार जनाको शव भेटिएको छ । प्रहरीका अनुसार एकजना पुरुषको शव चिनिने अवस्थामा छ ।

विमान सदरमुकाम देखि ३६ कोष पश्चिममा रहेको बोबाङको ढोरपाटन नजिकको चौधुल धुरी भन्ने स्थानमा मंगलबार बेलुकी सवा सातबजे दुर्घटना भएको प्रहरी नायव उपरीक्षक उमाप्रसाद चर्तुवेदीले बताए । अहिले सम्म प्रहरीले चार जनाको शब फेला पारिसकेको छ ।

विमानमा चालक दलका मेजर दिवाकर कार्की र विशाल सिंह राठोर थिए । त्यस्तै विरामी केशव ऐरी, विरामीका दाइ रामबहादुर ऐरी, डा. रविता पाठक र मिलन गोतामे विमानमा रहेका थिए ।

स्थानीय दिपक थापाले साँझ ७ बजेर ६ मिनेट जाँदा ठूलो आवाज आएर आगो बलेको देखेपछि प्रहरीलाइ खवर गरेका थिए । सेनाको आरएएन ४९ विएन २ टी मंगलवार साँझ ७ बजेर ६ मिनेट जाँदा दुर्घटना भएको अनुमान सेना र प्रहरीले गरेपछि थापाले बताएको स्थानमा प्रहरी परिचालन गरिएको थियो । बुधबार विहान घटनाको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर ढोरपाटन पुगेको छ । ढोरपाटन प्रहरी चौकी देखि घटनास्थल थप साढे दुइ घण्टाको पैदल यात्रा गर्नुपर्छ ।

दुर्घटना स्थल बागलुङ जिल्लाको उच्च पहाडी स्थल हो । उक्त स्थानमा राति १२ बजे उद्धारका लागि गएको प्रहरी पुग्दा जहाजका टुक्रा, मेजर दिवाकर कार्कीको परिचयपत्र सहितको झोला र एकजनाको शव फेला पारेको थियो । उक्त स्थानमा हिउँ परेको तथा कुहिरोले ढाकेकोले उद्धार कार्यमा कठिन भएको चर्तुवेदीले बताएका छन् । बिहान नेपाली सेनाको हेलिकोप्टर त्यस तर्फ प्रस्थान गरेको छ ।

स्थानीय लालकुमारी थापाले उक्त विष्फोट पछि आगो बलेको देखेको बताइन् । ठूलो आवाज सहित विष्फोट भइ आगो बलेको थाहा पाएपछि उनीहरुले प्रहरीमा खवर गरेका थिए ।

नेपाली सेनाको विमान दुर्घटना, विमानमा ६ जना



बिरामी ल्याइरहेको सैनिक जहाज दुर्घटना

जहाजमा यात्रारतहरू : चालकद्वय विशालसिंह राठौर र दिवाकर कार्की, डा. रविता पाठक, सैनिक केशवसिंह ऐरी, रामसिंह ऐरी र मिलन गोतामे

जे पाण्डे/प्रकाश बराल

नेपालगन्ज/बागलुङ- बिरामी लिएर नेपालगन्जबाट काठमाडौंतर्फ उडेको नेपाली सेनाको आइल्यान्डर जहाज बागलुङको बोवाङमा मंगलबार साँझ दुर्घटना भएको छ । आरएएन ४९ बीएन २ टी जहाजमा चालकसहित ६ जना थिए । राति अबेलासम्म उनीहरूको अवस्था खुलेको छैन ।

जहाजमा चालकद्वय विशालसिंह राठौर र दिवाकर कार्की थिए । हुम्लाको सिमकोटस्थित सिंहशार्दूल गणका सैनिक केशवसिंह ऐरी बिरामी परेपछि उनलाई उपचारार्थ डाक्टरसहित काठमाडौं लैजाँदै गर्दा दुर्घटना भएको हो । जहाजमा नेपालगन्जस्थित सेनाको फिए गुल्मका चिकित्सक उपसेनानी डा. रविता पाठक, बिरामी कुरुवा नेपाल प्रहरीको धनगढीमा कार्यरत रामसिंह ऐरी र सेनामा कार्यरत मिलन गोतामे थिए ।

साँझ ६:३० बजे नेपालगन्ज विमानस्थलबाट उडेको जहाज ७:०४ मिनेट जाँदासम्म टावरको सम्पर्कमा थियो । अन्तिम पटक नेपालगन्ज टावरको सम्पर्क छाडेर काठमाडौं टावरमा प्रवेश गरेको जानकारी चालक दलले दिएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका कर्मचारी रामनरेश ठाकुरले बताए ।

चालकदलले अन्तिम पटक ७ बजेर ४ मिनेट जाँदा नेपालगन्ज टावरमा रहेका एटीसी अफिसर सरस्वती शर्मा र सोहनराज जोशीसँग कुरा गरेर 'गुड बाई' भनेका थिए । 'त्यसपछि हाम्रो टावरसँगको सम्पर्क टुट्यो,' ठाकुरले भने । साँझ ७ बजेर ६ मिनेट जाँदा दुर्घटना भएको बागलुङ प्रहरीले अनुमान गरेको छ ।

काठमाडौंसँग पनि सम्पर्क विच्छेद भएपछि काठमाडौंबाट पुनः नेपालगन्जमा खबर गरी जहाज खोज्न थालिएको थियो । राति ९ बजेपछि नेपालगन्ज टावर खुल्ला गरी अवस्था अध्ययन गर्दा जहाज खसिसकेको पाइएको ठाकुरले बताए ।

जहाज बागलुङ सदरमुकामबाट ३६ कोस पश्चिममा रहेको बोवाङ-९ स्थित ढोरपाटन नजिकैको चौधुलधुरीमा दुर्घटना भएको र ठूलो आवाज आएको स्थानीय दीपक थापाले बताए । जहाज खस्दा आगो बलेको देखेपछि दीपकले प्रहरीलाई खबर गरेका थिए । चौधुलधुरी बागलुङ जिल्लाको उच्च पहाड हो ।

दुर्घटना स्थलमा ढोरपाटन सिकार आरक्षणको जंगल र तल्लो भेगमा बोवाङ बस्ती छ । दुर्घटनाको जानकारीपछि तत्कालै प्रहरी पठाइए पनि पैदल यात्रा गर्नुपर्ने भएकाले राति अबेरसम्म घटनास्थलमा प्रहरी पुग्न नसकेको डीएसपी उमाप्रसाद चतुर्वेदीले बताए ।

बत्ती नबाली आएको जहाज धुरीमा ठोक्किएर ठूलो आवाजका साथ विस्फोट भएको देखेको बोवाङकी लालकुमारी थापाले बताइन् ।

उद्धारका लागि भीमगिठेमा रहेको नेपाली सेना र प्रहरी एवं स्थानीय बासिन्दाको टोली गएको छ । रातको समय भएकाले दुर्घटनाको क्षतिबारे केही जानकारी पाउन नसकेको प्रमुख जिल्ला अधिकारी ख्यामबहादुर थापाले बताए ।

द्वन्द्वकालमा बेलायतले नेपाली सेनालाई सहयोगस्वरूप दुइटा जासुसी आइल्यान्डर जहाज दिएको थियो । हाल दुवै जहाज सैनिक प्रयोजनमा उपयोग गरिँदै आएका थिए । तिनैमध्ये एउटा दुर्घटनामा परेको हो ।

धौलागिरि अञ्चल प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण अर्यालका अनुसार ढोरपाटन प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक नाथुराम चौधरीको नृतत्वमा ५ प्रहरी र स्थानीयको टोली राति नै घटनास्थलतर्फ गएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक वीरबहादुर पुलामीको टोली उद्धारका लागि हिँडेको अर्यालले जानकारी दिए ।

नेपालगन्जबाट उडेको जहाज प्यूठानको थाराको आकाश भएर भरतपुर हुँदै काठमाडौं छिर्नुपर्नेमा थाराबाट भरतपुरतर्फ नलागी सीधै बागलुङतर्फ मोडिएको टावर रुटमा देखिएको स्रोतले जनाएको छ । टावर स्रोतका उपकरणले राम्ररी काम नगर्दा त्यसो भएको हुन सक्छ ।

यसैबीच काठमाडौंमा सैनिक जनसम्पर्क निर्देशनालयका सहप्रवक्ता कुवेर थापाले दिएको जानकारीअनुसार राति नै उद्धारका लागि सैनिक हेलिकप्टर त्यसतर्फ पठाइएको छ ।
 

Posted by Butwalonline on 8:02 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सैनिक विमान दुर्घटनाः विमानमा रहेका सबैको मृत्यु"

Leave a reply