बजारमा ६ महिनाअघिको मासु,
दिपक घिमिरे,भैरहवा, २५ भदौ-जिल्ला प्रशासन कार्यालय रूपन्देहीको नेतृत्वमा गठन भएको बजार अनुगमन समितिले भैरहवामा केही मिठाई र मासु पसलमा अनुगमन गरेको छ ।चाडपर्व नजिकिंदै गर्दा अनुगमन समितिले बजार अनुगमनलाई तीव्रता दिएको हो । बजारमा अखाद्य तथा गुणस्तरहीन सामानको बिक्री वितरण बढेको जनगुनासो बढ्दै गए सम्बन्धित निकायले बजार अनुगमनलाई तीव्रता दिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीको निर्देशनमा निस्किएको अनुगमन समितिले भैरहवाका केही मासु तथा मिठाई पसलमा अनुगमन गर्दा केही मासु पसलले गम्भीर लापरबाही गरेको पाइएको अनुगमन समितिले जनाएको छ । अनुगमन गरिएका ९÷१० वटा मासु पसलमध्ये केही मासु पसलेले महिनौँ अघिको बासी मासु बिक्री वितरण गरेको रहस्य फेला पारेको छ ।
जिल्ला अनुगमन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी लक्ष्मण कुमार थापाको निर्देशनमा वाणिज्य कार्यालय, सिद्धार्थनगर नगरपालिका, नापतौल कार्यालय, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय, जिल्ला पशु सेवा कार्यालय तथा सिद्धार्थनगर उद्योग वाणिज्य संघ तथा उपभोक्ता मञ्चका प्रतिनिधिहरूले भैरहवाको अन्नपूर्ण टोल, विपी पथ, बर्मेली टोल लगायतका स्थानमा रहेका करिब १ दर्जन मासु पसल तथा केही मिठाई पसलहरूको निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालयका उपसचिव राधा कृष्ण शर्माले जानकारी दिए ।
समितिले अनुगमन गर्दा भैरहवाका दुई वटा मासु पसलबाट सडेको मासु फेला पारेको बताएको छ । अनुगमन समितिले भैरहवाको बुद्धचोकको असिला न्यू मासु पसल र अन्नपूर्ण टोलको तसलिम मासु पसलमा महिनौँ पुरानो मासु फेला पारेको अनुगमनमा सहभागी समितिका सदस्य एवम् सिद्धार्थनगर उद्योग वाणिज्य संघका सदस्य नेत्र प्रसाद आचार्यले जानकारी दिए ।
उनले अलिसा मासु पसलबाट फ्रिजमा राखिएको अवस्थामा ६ महिना अगाडिदेखि राखिएका ५० किलो ग्राम बढी बाख्राका खुट्टा फेला पार्नुका साथै तहसिल मासु पसलबाट किरा परेको १ क्वीन्टल बढी मासु फेला परेको बताए । फ्रिजमा राखिएको ती बाख्राका खुट्टा कुहिएर फ्रिजभित्रै किरा परेको पाइएको जानकारी दिंदै सदस्य आर्चायले फ्रिज गन्हाएका कारण फ्रिजमा मट्टीतेल खन्याएर सफा गर्न लगाएको बताए ।
जिल्ला अनुगमन समिति रूपन्देहीले भैरहवामा विभिन्न स्थानमा मासु पसल तथा मिठाई पसलहरूको अनुगमन गरी सडेगलेको २ क्वीन्टल बढी मासु तत्कालै नष्ट गरेको छ । बरामद गरिएको मासुमा किरा परेको र त्यस्तो मासुको प्रयोगले फुड पोइजनका साथै मानव स्वास्थलाई गम्भीर असर गर्ने जिल्ला पशु कार्यालयका डा.भक्त निहुरेले जानकारी दिए ।
बजार अनुगमनलाई अझै तीव्रता दिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अनुगमनका क्रममा गुणस्तर हिन मासु बिक्री वितरण गर्दै आएको अलिसा न्यु मासु पसलले सम्बन्धित निकायमा दर्ता समेत गराएको छैन भने तहसिल मासु पसल भने २०६४ सालदेखि नवीकरण गरेको छैन ।
स्रोत :दैनिक पत्र
